काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले तारो बनाएको भाटभटेनी सुपरमार्केटले पुननिर्माणसँगै पुनः उठ्ने घोषणा गरेको छ ।
सामाजिक सञ्जालमार्फत भाटभटेनीले एक सन्देश प्रवाह गर्दै विषम परिस्थितिका बीच फेरि उठ्ने उद्घोष गरेको हो ।
'दुःखद क्षणहरु गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईहरुको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं । हजारौं सहयोगी हातहरुले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन् र फेरि हामीलाई उठ्न शक्ति दिइरहेका छन् ।' भाटभटेनीले आफ्नो सन्देशमा भनेको छः'भाटभटेनी फेरि उभिनेछ । तपाईहरुको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।'
जेनजी आन्दोलनका क्रममा अराजक समूहले देशभरका भाटभटेनी आउटलेटहरुलाई टार्गेट बनाएर आक्रमण गरेको थियो ।

यो क्रममा टोखा, सात दोबाटो, अनामनगर, सानागाउँ, यूनाइटेड टेड सेन्टर, पाटन र नेपालगञ्जमा रहेका भाटभटेनीका स्टोरहरु पूर्ण रुपमा सुरक्षित रहेका थिए । बाँकी २१ आउटलेटमा क्षति पुगेको थियो ।
भवनसहित पूर्ण रुपमा क्षतिग्रस्त भएका स्टोरहरुमा टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वेयरहाउस, पोखरा, चितवन, हेटौडा, विर्तामोड, दमक, विराटनगर र धरान रहेका छन् ।
भवन तोडफोड तथा लुटपाट भएका शाखाहरुमा कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा रहेका छन् ।
भाटभटेनीले यो आक्रमणबाट अरबौंको क्षति व्यहोरेको छ भने त्यहाँ कार्यरत ५ हजार बढी कर्मचारी कामदारले तत्कालका लागि रोजगारी गुमाएका छन् ।
यति ठूलो क्षति व्यहोर्दा समेत हतोत्साही नहुने भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङको पुननिर्माणको उद्घोष र उच्च मनोबलको सर्वत्र प्रशंसा भइरहेको छ । सामाजिक सञ्जालभरि भाटभटेनीलाई सबैले प्रोत्साहन र हौसला दिइरहेका छन् ।