मंगलवार, भाद्र २४,२०८२ 06:09:32
  • मंगलवार, भाद्र २४,२०८२ 06:09:32
Global IME Bank Limited

डिजिटाइजेशनको प्रभावले बीमा कम्पनीका २८३ वटा शाखा घट्यो, बीमाको दायरामा असर

Hyundai Nepal
डिजिटाइजेशनको प्रभावले बीमा कम्पनीका २८३ वटा शाखा घट्यो, बीमाको दायरामा असर

काठमाण्डौ । बीमा कम्पनीहरुले धमाधम शाखा कार्यालय घटाउँदा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घट्न पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको फागुन महिनासम्ममा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ४३.१६ छ ।  

यो जनसंख्या प्रतिशत गत आवको यसै अवधिसम्मको तुलनामा २.०२ प्रतिशतले कम हो । गत आवको फागुन मसान्तसम्म बीमाको दायरामा ४४.०५ प्रतिशत जनसंख्या थियो ।  

नेपाल बीमा प्राधिकरणले बीमाको दायरा बढाउने विभिन्न प्रयत्न गरेतापनि गत आवको तुलनामा बीमा गर्ने जनसंख्या झनै घटेको छ । गत वर्ष आर्थिक मन्दीका बावजुत पनि ४४.०५ प्रतिशत जनसंख्या बीमाको दायरामा थिए ।  

देशको आर्थिक अवस्था विस्तारै सुधारोन्मुख हुँदै गएपनि बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घट्दो छ । प्राधिकरणका अनुसार अझैपनि ५६.८४ प्रतिशत जनसंख्या अर्थात् आधा भन्दा बढी जनसंख्याले बीमा गरेका छैनन् वा बीमाको दायरामा छैनन् ।

देशको आर्थिक अवस्था अझै सुधार हुन नसक्दा जीवन बीमामा सरेण्डर दर बढ्दै गएका कारण बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घट्न पुगेको प्राधिकरणले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बीमा प्राधिकरणले बीमाको दायरा बढाउन विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम समेत गर्दै आइरहेको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई बीमा सचेतनासम्बन्धी कार्यक्रमहरु अनिवार्य गर्नुपर्ने निर्देशन समेत दिदैं आइरहेको छ ।  

प्राधिकरणको निर्देशन पालना गरी बीमा कम्पनीहरुले पनि विभिन्न क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, यस्ता कार्यक्रमले बीमा क्षेत्रमा कुनै प्रभाव पारेको देखिदैन ।  

नेपालको कुल जनसंख्यामा आधा भन्दा बढी जनसंख्यालाई बीमाको दायरामा ल्याउने प्राधिकरणको उद्देश्य सफल हुन सकेको छैन । बीमा कम्पनीहरुको कुल व्यवसाय बृद्धि भएपनि नेपालको सबै क्षेत्रमा बीमा नपुगेको तथ्याङ्ककले देखाउँछ । अर्थात् न्युन आय भएका वा सीमान्तकृत वर्गमा अझै पनि बीमा पुगन नसकेको बुझ्न सकिन्छ ।  

पछिल्लो समय बीमा कम्पनीको शाखा कार्यालय संख्या धमाधम घट्दा बीमाको दायरा नै घट्न पुगेको छ । प्राधिकरणका अनुसार फागुन मसान्तसम्म आइपुग्दा बीमा कम्पनीको शाखा कार्यालय संख्या ८.८० प्रतिशतले घट्न पुगेको छ । गत वर्षको यस अवधिसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीको कुल शाखा कार्यालय ३ हजार २१५ रहेकोमा यस अवधिसम्म आइपुग्दा २८३ वटा शाखा घटेर २ हजार ९३२ वटा कायम भएको छ ।  

जसमा जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या ह्वात्तै घटेपनि निर्जीवन बीमा कम्पनीहरुले भने शाखा संख्या थप्दै गइरहेको प्राधिकरणले जनाएको छ । गत आवको तुलनामा जीवन बीमा कम्पनीको शाखा १६.५५ प्रतिशतले घटेको छ । गत आवको फागुन मसान्तसम्म जीवन बीमकको शाखा कार्यालय संख्या २२०६ रहेकोमा ३६५ वटा शाखा घटेर १८४१ वटामा कायम भएको छ ।  

यता निर्जीवन बीमा कम्पनीहरुले भने ८२ वटा शाखा थपेका छन् । गत आवको यस अवधिसम्म कुल शाखा संख्या १००९ रहेकोमा यस अवधिसम्म ८।१३ प्रतिशतले बढेर शाखा संख्या १०९१ पुगेको छ ।  

यसर्थ जीवन बीमा कम्पनीहरुले धमाधम शाखा कार्यालय घटाउँदा बीमाको दायरा समेत घट्न पुगेको छ । अर्थतन्त्रमा सुधार नआउँदा बीमा कम्पनीहरुको व्यवसाय समेत भनेजस्तो फस्टाउन नसक्दा जीवन बीमा कम्पनीहरु शाखा घटाएर खर्च कम गर्न लागिपरेका छन् । प्राधिकरणका अनुसार विशेषतः जीवन बीमातर्फका ठूला कम्पनीहरुले नै शाखा घटाउने मनसाय बोकेका छन् ।  

कुनै समय शाखा विस्तारमा जोड दिदैं आइरहेको नेपाल लाइफ, नेशनल लाइफ, हिमालयन लाइफ जस्ता ठूला कम्पनीहरु नै अहिले शाखा घटाउने मनसायले प्राधिकरणमा आवेदन दिन थालेका छन् ।  

साथै कोभिड–१९ पछि बीमा क्षेत्रमा फस्टाएको डिजिटाइजेशनले पनि बीमा कम्पनीहरु शाखा कार्यालय घटाउन लागिपरेका हुन् । बीमा क्षेत्रमा चाहिने पोलिसी बिक्री, दाबी भुक्तानी, प्रिमियम तिर्ने जस्ता सबै कार्य डिजिटल माध्यमबाटै हुने भएकाले शाखा कार्यालय मात्रै बढाउँदा सञ्चालन खर्च भारी पर्न जाने बीमा कम्पनीका सीईओहरु बताउँछन् ।  

विशेषगरी जीवन बीमा कम्पनीहरुले डिजिटल अभ्यासलाई बढी प्राथमिकता दिइरहेको पाइएको छ । यसैको प्रभावले जीवन बीमा कम्पनीहरुको मात्रै ३६५ वटा शाखा कार्यालयको अस्तित्व मेटिएको छ । बीमा क्षेत्रमा डिजिटाइजेशनलाई बढी प्राथमिकता दिंदा शाखा कार्यालयसँगै बीमाको दायरा बढ्नुको सट्टा झनै घट्न पुगेको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.