काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौं दीक्षान्त समारोह शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको उक्त समारोहमा १४१ जना चार्टर्ड एकाउन्टेन्स् दीक्षित भएका छन् ।
दीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई प्रमुख अतिथि रायाले दीक्षान्त प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रायाले सुशासनमार्फत राष्ट्र निर्माणमा योगदान गर्न चार्टर्ड एकाउन्टेन्टहरूलाई आग्रह गरे । उनले सरकार, नियामक निकाय र सरोकारवालाबीच सहकार्यको आवश्यकता औंल्याउँदै उच्च नैतिकतासहितको पेसागत विकासमा जोड दिए ।
चार्टर्ड एकाउन्टेन्ट राष्ट्रको आर्थिक विकासका लागि आवश्यक विशिष्ट पेसा रहेको बताउँदै महालेखापरीक्षक रायाले नवदीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई शुभकामना पनि दिए ।
सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता, आन्तरिक नियन्त्रण प्रणालीको सुनिश्चितता गर्न चार्टर्ड एकाउन्टेन्टस्को भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । पेसागत निर्णयमा नैतिकता, स्वतन्त्रता र विवेकको समुचित प्रयोग गर्न सुझाउनुभएका महालेखापरीक्षक रायाले प्रविधि र उपकरणमा जतिसुकै परिवर्तन आए पनि नैतिक मूल्यमा सम्झौता गर्न नहुनेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले यतिबेला सरकारी वित्त दबाबमा रहे पनि बाह्य क्षेत्र ठिकठाक रहेको र मुद्रस्फीति पनि वाञ्छित सीमाभित्रै रहेकोले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए ।
समारोहमा आइक्यान अध्यक्ष सिए निलबहादुर सारु मगरले नयाँ सिएहरूलाई स्वागत गर्दै संस्थाले लिएको पहलकदमीबारे जानकारी गराएका थिए । संस्थाले पछिल्लो समय सिए वल्र्डवाइडको सदस्यता लिएको, ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल–गेन परियोजना सुरु गरेको, पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न गरेको तथा युजिसीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको तथा लेखा व्यवसायीको दायरा अभिवृद्धि लगायत विषयपनि अध्यक्ष सारुमगरले जानकारी गराए ।
सो अवसरमा आइक्यानले आयोजना गरेको क्विज र पब्लिक स्पिकिङ प्रतियोगिताका विजेतालाई मेडल र पुरस्कार वितरण गरिएको थियो ।

