काठमाडौं । उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हालेको हिमालयन रि(इन्स्योरेन्सका कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपुरले पदबाट राजीनामा दिएका छन्।
कम्पनीका अनुसार कपुरले हिजो औपचारिक रूपमा कामु सीईओ पदबाट एक सातामै राजीनामा बुझाएका हुन्।
राजीनामा स्वीकृत गर्ने प्रक्रियाबारे भने कम्पनीले अहिलेसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
करिब पाँच वर्षदेखि सोही कम्पनीमा कार्यरत कपुरलाई यही असार २ गते कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो।
तर, छोटो समयमै उनले पदबाट अलग हुने निर्णय गरेपछि कम्पनीको उच्च व्यवस्थापन संरचनाबारे पुनः छलफल शुरु भएको बताइएको छ।
सीईओ उपासना पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएपछि कम्पनीले अस्थायी व्यवस्थापनका रूपमा कपुरलाई कामु सीईओको जिम्मेवारी सुम्पिएको थियो।
संवेदनशील अवस्थामै नेतृत्व सम्हालेका उनी केही दिनमै जिम्मेवारीबाट बाहिरिएका हुन्।
कपुरले किन राजीनामा दिए भन्ने विषयमा कम्पनीले स्पष्ट कारण खुलाएको छैन।
तर, हालको परिस्थितिलाई मध्यनजर गर्दै संस्थागत स्थायित्व, नेतृत्व निरन्तरता र वैकल्पिक व्यवस्थापनबारे आन्तरिक तहमा छलफल भइरहेको कम्पनी स्रोतले जनाएको छ।
कम्पनीले आगामी दिनमा नयाँ नेतृत्व सम्बन्धी निर्णय औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ।

