काठमाण्डौ । सरकारले हालै जारी गरेका चार अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित ल्याइएका विधेयकहरू आइतबार प्रतिनिधिसभामा औपचारिक रूपमा प्रस्तुत भएका छन्।
आइतबारको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ सदनमा पेस गरिएको हो।
सरकारले विभिन्न क्षेत्रमा कानूनी तथा प्रशासनिक सुधारलाई तीव्रता दिन अध्यादेशमार्फत ल्याएका व्यवस्थाहरूलाई स्थायी कानूनको स्वरूप दिन यी प्रतिस्थापन विधेयक अघि सारिएको हो।
संसदमा प्रस्तुत भएसँगै अब विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइने र आवश्यक संशोधनपछि पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।
सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने, सम्पत्ति शुद्धीकरण नियन्त्रणलाई कडा बनाउने, सहकारी क्षेत्रमा नियमन सुधार गर्ने तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको कानूनी संरचना परिमार्जन गर्ने उद्देश्य यी विधेयकहरूले राखेका छन्।

