काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा केही कम्पनी चलाएर तीव्र चलखेख हुन थालेको छ । खासगरि नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र विशाल बजार कम्पनीमा विभिन्न हल्ला चलाएर दिनभर चलखेल हुने गरेको छ । यतिबेला एनआरएन कम्पनीको सेयर भाउ कुनै समयमा एनएफएसको जसरी नै उचालिएको छ । प्रतिकित्ता २६ सयसम्म एनएफएसको सेयरमूल्य अहिले घटेर ७ सय आसपासमा आईपुगेको छ । जसमा लगानीकर्ताहरुले प्रतिकित्ता १९ सय रुपैयाँसम्म घाटा व्यहोरेका छन् ।
हाल एनआरएन कम्पनीको सेयर भाउ पनि यतिउतिसम्म पुग्छ भन्ने हल्ला चलेको छ । खासगरि नाम चलेको एक ब्रोकरबाट नियामित किनेबेच हुन थाले पछि यो कम्पनीमा लगानीकर्ता झुम्मिएका हुन् । यो कम्पनीमा विदेशी साझेदार र हकप्रदको हल्ला चलाएर मूल्य उचालिएको एक लगानीकर्ता टेकेन्द्र थपलियाले बताए । थपलियाले यस्तो कम्पनीमा सोझा भन्दा पनि लोभि लगानीकर्ता फस्ने गरेको प्रतिक्रिया दिए । उक्त ब्रोकरले किनबेच गरेको भन्दा पनि म्याचिङ गरेर मूल्यको बढाएको पनि थपलियाले आरोप लगाए ।
यो कम्पनीको सेयरमूल्य आज प्रतिकित्ता १७१७ रुपैयाँमा अन्तिम काराबार भएको छ । यो कम्पनीको सेयर भाउ पछिल्लोपटक छोटो समयमा नै तीव्र गतिमा बढेको छ । गत कार्तिकमा प्रतिकित्ता ८६० रुपैयाँ रहेको यो कम्पनीको सेयर भाउ ५ महिनाको अवधिमा दोब्बर बढीले बढेर १७ सय १७ पुगेको छ । यो बीचमा कम्पनीको वित्तीय अवस्था खासै प्रगति भएको देखिदैन । हाल कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ८.३७ रुपैयाँ मात्रै रहेको छ । यो भनेको हालको बजार मूल्य अनुसार मूल्य आम्दानी अनुपात २०३ गूणा बढी हो । यो सँगै कम्पनीका वित्तीय आम्दानी नकरात्मक नै रहेको छ । यो कम्पनीको सेयर हाल नासा सेक्यूटिज स्टक ब्रोकर नम्बर ५८ बाट उच्च होल्डिङ रहेको छ ।
दोस्रो बजारमा कारोबार हुने अर्को कम्पनी विशाल बजार कम्पनी ( बीबीसी)को कथा पनि कम रोचक छैन । यो कम्पनी नेप्सेमा सबै भन्दा ठूलो पूँजी भएको कम्पनी हो । जसको दोस्रो बाजरमा ४ लाख १८ हजार कित्ता मात्रै रहेको छ । यहि लो क्यापको फाइदा उठाएर सेयर बजारमा हाल तीव्र चलखेल हुँदै आएको छ । पछिल्लो समय बीबीसीको सेयर भाउ बढेमा बजार नै बढ्ने र घटेमा बजार नै बढ्ने पनि गरेको छ । यो कम्पनीमा पनि चलेखेल नै भएको प्रष्ट भएको लगानीकर्ता सुरज मानान्धर ठोकुवा गर्छन । यो कम्पनीको पनि वित्तीय अवस्था खासै सन्तोषजनक देखिदैन । कम्पनीले वार्षिक साधारण सभा नै नगरेको वर्षौ भयो । तर पनि यो कम्पनीको सेयर मूल्य छोटो समयमा माथि पुराएर चलखेल हुँदै आएको छ । यो कम्पनी पनि नासा सेक्यूरिटिज स्टक ब्रोकर नम्बर ५८ बाट नै उच्च होल्डिङ रहेको छ ।
यी दुई कम्पनीको सेयरमूल्यमा भएको चलखेलको बारेमा जिज्ञाशा राख्दा धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले यस विषयमा आफूले अनुगमन विभागलाई जानकारी दिने बताए ।