काठमाण्डौ । अर्थमन्त्रायले पूँजीबजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने सुधारका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ ।
अर्थमन्त्री डा. रामेश्वर खनालले असोज ३ गते यस्तो कार्यदल बनाउने निर्णय गरेका हुन् ।
धितोपत्र बोर्डका का.मु. कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदल ४ सदस्यीय रहेको छ ।
कार्यदलको सदस्यको रुपमा नेपाल राष्टबैंकका निर्देशक शरण अधिकारी,, नेपाल स्टक एक्सचेञ्जका का.मु. कार्यकारी निर्देशक निरञ्जन फूयाँल सदस्यको रुपमा रहेका छन् ।
कार्यदलको सदस्य सचिवमा चाहिँ अर्थमन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।
यो कार्यदलले पूँजीबजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना ५ दिनभित्रमा प्रस्तुत गर्ने म्याण्डेड पाएको छ ।
