काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचना परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनीले संस्थापक समूहअन्तर्गत रहेको १० प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत गर्ने प्रस्ताव पारित गरेको जनाएको छ।
कम्पनीद्वारा जारी सूचनाअनुसार हाल संस्थापक सेयरधनीहरूको हिस्सा ८४.६७ प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको हिस्सा १५.३३ प्रतिशत रहेको छ। बीमक सम्बन्धी प्रचलित निर्देशिकाअनुसार संस्थापक शेयरको स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी सेयर सर्वसाधारणमा परिणत गर्न सकिने प्रावधान रहेको छ।
यसै व्यवस्था बमोजिम कम्पनीको चैत १९ गते सम्पन्न विशेष साधारण सभाले संस्थापक सेयरको १० प्रतिशत हिस्सा सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। उक्त निर्णय कार्यान्वयनपछि कम्पनीको सेयर संरचनामा परिवर्तन भई संस्थापक समूहको हिस्सा ७६.२० प्रतिशत तथा सर्वसाधारण समूहको हिस्सा २३.८० प्रतिशत कायम हुने जनाइएको छ।
कम्पनीले यस सम्बन्धमा आवश्यक स्वीकृति नेपाल बीमा प्राधिकरणबाट प्राप्त गरिसकेको पनि स्पष्ट पारेको छ।
साथै, कम्पनीले संस्थापक सेयरधनीहरूलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा रूपान्तरण गर्न अनिच्छा भए लिखित निवेदन पेश गर्न आग्रह गरेको छ। तोकिएको समयावधिभित्र कुनै निवेदन प्राप्त नभएमा सम्बन्धित सेयरधनीहरूको सहमति रहेको मानिने र विशेष साधारण सभाको निर्णयअनुसार सेयर रूपान्तरण प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

