काठमाण्डौ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महान नेता भएको बताएका छन् । भारत भ्रमणमा रहेका भान्सले सोमबार प्रधानमन्त्री मोदीसँगको भेटबारे प्रतिक्रिया दिदै यस्तो बताएका हुन् ।
उनले आफ्नो सोशल मिडिया अकाउन्ट एक्समा लेखेका छन्, ‘आज साँझ प्रधानमन्त्री मोदीलाई भेट्नु मेरो लागि सम्मानको कुरा हो। उहाँ एक महान नेता हुनुहुन्छ र उहाँले मेरो परिवारलाई राम्रो व्यवहार गर्नुभयो । म राष्ट्रपति ट्रम्पको नेतृत्वमा भारतका जनतासँगको हाम्रो मित्रता र साझेदारीलाई सुदृढ बनाउने दिशामा काम गर्न तत्पर छु।’
जेडी भान्स आफ्नी पत्नी उषा भान्स र तीन छोराछोरीसँग भारत भ्रमणमा आएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अमेरिकी उपराष्ट्रपति र उनको परिवारलाई प्रधानमन्त्री निवास ७ लोककल्याण मार्गमा स्वागत गरे। यस भेटको बारेमा प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनको परिवारलाई नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा खुसी छु। मेरो अमेरिका भ्रमण र राष्ट्रपति ट्रम्पसँगको भेटपछि हामीले भारत–अमेरिका सम्बन्धमा द्रुत प्रगतिको बारेमा छलफल गर्यौं। हाम्रा दुवै देश व्यापार, प्रविधि, रक्षा, ऊर्जा र जन सम्बन्ध जस्ता धेरै क्षेत्रमा एकअर्कासँग काम गर्न तयार छन्।’
प्रधानमन्त्री मोदीले भारत र अमेरिकाबीचको साझेदारीलाई २१ औं शताब्दीको महत्वपूर्ण साझेदारीको रुपमा व्याख्या गरेका छन् ।