काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको निर्जीवन बीमकहरुको दाबी भुक्तानी विवरणमा त्रुटि भेटिएको छ । गत वर्ष असोज १० गतेदेखि अविरल वर्षाको कारणले भएको क्षतिबाट बीमा दाबीको विवरणमा त्रुटि भेटिएको हो ।
प्राधिकरणको विवरणअनुसार १८ बीमा कम्पनीमा जेठ २८ गतेसम्ममा कुल ३ हजार ७१२ वटा बीमाको १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
प्राधिकरणको तथ्याङ्कमा सो अवधिसम्म ३ हजार ५६ वटा बीमाको कुल ४ अर्ब ८७ करोड ४२ लाख रुपैयाँको दाबी भुक्तानी भएको देखाइएको छ । प्राधिकरणले भुक्तानी हुन बाँकी दाबी संख्या भने ६९६ वटा देखाएको छ भने भुक्तानी हुन बाँकी दाबी रकम समेत ६ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ देखाइएको छ ।
यसरी प्राधिकरणको तथ्याङ्कमा त्रुटि नै त्रुटि देखिएको छ । यदि दाबी परेको रकम वा संख्या र भुक्तानी भएको दाबी संख्या र रकमको गणना गर्ने हो भने सो अवधिसम्म बीमा कम्पनीहरुमो भुक्तानी हुन दाबी संख्या ६५६ हुनुपर्ने हो । तर प्राधिकरणले तथ्याङ्कमा दाबी संख्या ६९६ देखाएको छ । सो अनुसार ४० वटा बीमा दाबी प्राधिकरणले कताबाट थप्यो भन्ने प्रश्न उठेको छ ।
त्यस्तै, प्राधिकरणका अनुसार सो अवधिसम्म १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँको दाबी परेकोमा ४ अर्ब ८७ करोड ४२ लाख रुपैयाँको भुक्तानी भइसकेको देखाइएको छ । तर प्राधिरकणले अब दाबी भुक्तानी दिन बाँकी रकम भने ६ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ देखाएको छ । जबकि भुक्तानी दिन बाँकी रकम ७ अर्ब ४० करोड १४ लाख रुपैयाँ हुनुपर्नेमा प्राधिकरणले भने ६ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ मात्रै देखाएको छ ।
जसअनुसार प्राधिकरणको तथ्याङ्कमा भुक्तानी हुन बाँकी दाबी रकमबाट ७० करोड ७२ लाख रुपैयाँ गायब देखिएको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार विशेषगरी सम्पत्ति बीमा, इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमा र मोटर बीमामा यस्तो समस्या देखिएको छ ।
त्यस्तै कम्पनीअनुसार हेर्दा चारवटा निर्जीवन बीमकमा यस्तो तथ्याङ्क गडबढ देखिएको छ । शिखर इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको भुक्तानी हुन दाबी रकममा गडबढ देखिएको हो ।
प्राधिकरणका अनुसार सो अवधिसम्म शिखर इन्स्योरेन्समा कुल परेको दाबी संख्या ४७१ वटा छ । जसमा कम्पनीले ४५८ वटा दाबीको भुक्तानी दिइसकेको छ भने अब बाँकी ४९ वटा दाबी भुक्तानी हुन देखाइएको छ । विवरणअनुसार बुझ्ने हिसाबले भन्नुपर्दा कम्पनीले भुक्तानी गर्नुपर्ने बाँकी दाबी संख्या १३ हुनुपर्ने थियो ।
त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्समा पनि कुल दाबी परेको संख्या २२६ वटा छ जसमा कम्पनीले हालसम्म १६५ वटा दाबीको भुक्तानी दिइसकेको र अब बाँकी भुक्ती हुन बाँकी दाबी संख्या ६८ वटा देखाइएको छ । जसमा ६१ वटा बाँकी दाबी संख्या हुनुपर्ने थियो ।
यसका साथै हिमालयन एभरेष्ट इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको पनि यस्तो तथ्याङ्कमा गडबढ देखाइएको छ ।
नेपाल बीमा प्राधिकरणका एक अधिकारीले भने निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी विवरणमा कुल परेको दाबी रकममा भुक्तानी रकम घटाउँदा भुक्तानी हुन बाँकी रकम जोडघटाउको जस्तो एक्युरेट नहुने बताए ।
‘निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी हुनुभन्दा अगाडी सर्भेयरले क्षतिको मूल्यांकन गरेको हुन्छ, कम्पनीमा परेको सबै दाबीको भुक्तानी हुन्छ भन्ने छैन र दाबी परेको रकम बराबरको भुक्तानी हुन्छ भन्ने पनि छैन’ उनले भने, ‘सर्भेयरले भ्यालुएसन गर्दा कुनै दाबीको भुक्तानी विथ ड्र हुँदा त्यस्तो रकम दाबी भुक्तानीमा गणना हुँदैन यसकारण भुक्तानी हुन बाँकी रकम एक्युरेट नदेखिएको हुन सक्छ ।’
प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी विवरणमा दाबी परेको कुल रकम, भुक्तानी रकम र बाँकी रकमको हिसाबकितावमा जोडघटाउ गरेजस्तो एक्युरेट नहुने भनेपनि यस्तो गडबढी हिसाबले बीमितहरु झुक्निने उच्च सम्भावना रहन्छ ।