काठमाण्डौ । कर्णाली विकास बैंकमा देखिएको ४ अर्ब ९० करोड रुपैयाँ बराबरको घोटाला प्रकरण थप जटिल बन्दै गएको छ। घटनामा संलग्नता रहेको आरोपमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको टोखाबाट पक्राउ गरेको छ।
६१ वर्षीय बस्नेत सुनसरीका स्थायी बासिन्दा हुन्। उनी कर्णाली विकास बैंक गम्भीर आर्थिक संकटमा परेका बेला अनुगमन अधिकृतका रूपमा खटिएका थिए। तर, त्यस्तो संवेदनशील अवस्थामा पनि बैंकको अवस्था ‘सन्तोषजनक’ रहेको झुटो प्रतिवेदन दिएको आरोप उनीमाथि लागेको छ।
यसअघि सीआईबीले अनुगमनमा गएकाहरुको विवरण माग गर्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेपछि राष्ट्र बैंकभित्र तनाव सिर्जना भएको थियो। सोही सिलसिलामा बस्नेतको नाम खुलेको हो। सीआईबीका प्रमुख एआईजी चन्द्रकुवेर खापुङका अनुसार उनलाई थप अनुसन्धानका लागि नेपालगञ्ज पठाइनेछ।
यो घटनाले बैंकिङ नियमनमा व्यापक सुधारको आवश्यकता देखाएको छ, जहाँ नियामक निकायको भूमिकामाथि समेत अब प्रश्न उठ्न थालेको छ।
यो घटनामा संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइसकिएको छ। त्यस्तै, बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, र निरजविक्रम शाहसमेतको संलग्नता प्रहरी अनुसन्धानबाट खुलेको छ।
आन्तरिक छानबिन समितिका अनुसार, कर्णाली विकास बैंकको विभिन्न खातामा देखिएको मौज्दात र बैंकको कोर बैंकिङ सिस्टम (CBS) मा देखिएको रकमबीच ठूलो अन्तर देखिएपछि घोटालाको शंका पुष्टि भएको हो। सो रकमलाई नक्कली ब्यालेन्स सर्टिफिकेटमार्फत लुकाएर वर्षौँसम्म अपचलन गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घोटालाले देशको बैंकिङ क्षेत्रमै गम्भीर प्रश्न उठाएको छ। राष्ट्र बैंकका गर्भनर विश्व पौडेलले समेत घटनाबारे चासो देखाइसकेका छन्। घटनाको जडसम्म पुग्न सीआईबी र प्रहरी उच्च अधिकारीहरूको टोलीले संयुक्त रूपमा अनुसन्धान तीव्र पारिरहेको छ।
यो घटनाले बैंकिङ नियमनमा व्यापक सुधारको आवश्यकता देखाएको छ, जहाँ नियामक निकायको भूमिकामाथि समेत अब प्रश्न उठ्न थालेको छ।