काठमाण्डौ । भैरहवाको लुम्बिनीमा रहेको एशियन होटलले आईपीओ जारी गर्ने भएको छ ।
यो होटलले आईपीओ जारीका लागि आवश्यक प्रक्रियाको सुरुवात गरेको हो ।
पर्यटकीय नगरी लुम्बिनीमा विगत ४ वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको एशियन होटलले आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्यले ३५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने तयारी थालेको हो ।
आईपीओबाट जुटेको लगानीबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोट्र्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गर्ने योजना रहेको बताइएको छ ।
यही तयारी स्वरुप होटलले शेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
एक औपचारिक कार्यक्रममा होटल एशियनको तर्फबाट अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे
यो होटल सन् २०२१ मा स्थापित भएको हो ।
यस होटलले हाल ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्कोट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग जस्ता अन्य सम्बन्धित सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
शेयर निष्काशनपश्चात् आफ्नो व्यवसाय विस्तार गर्नका लागि अरु मुख्य सहरहरु जस्तै पोखरा, काठमाण्डौ, चितवनमा आफ्नो सेवा बिस्तार गर्ने योजना रहेको अध्यक्षले जानकारी गराएका छन्।