काठमाण्डौ। एभरेष्ट बैंकले ‘डबल कि वान ड्रिम हाउसिङ एन्ड भेहिकल लोन’ नामक योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत बैंकले ६.५२ प्रतिशतमै घर र सवारी कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकले घर र सवारी खरिद गर्न चाहनेहरुको सपना साकार पार्न सस्तो र सुलभदरमा कर्जाको सुविधा उपलब्ध गराउन यो योजना ल्याएको जनाएको छ । बैंकले आधारदरमा १.२५ प्रतिशत प्रिमियर थप गरेर ६.५२ प्रतिशतमै आवास तथा सवारी कर्जा उपलब्ध गराउने छ । यतिबेला बैंकको आधारदर ५.२७ प्रतिशत रहेको छ ।
बैंकले यी कर्जाका लागि ०.५० प्रतिशत मात्रै प्रोसेसिङ चार्जको व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंकहरुलाई यस्तो शुल्क ०.७५ प्रतिशतसम्म लिनसक्ने छुट दिएको छ ।
बैंकले यो योजना अन्तर्गत स्थिर ब्याजदरमा ७.४९ प्रतिशतमा ७ वर्षसम्मका लागि घरकर्जा उपलब्ध गराउने जनाएको छ। यो कर्जा पुनर्ब्याजदर मूल्यांकन गर्दै ३५ वर्षसम्मको लागि उपलब्ध गराइने छ ।
यस्तै बैंकले ५ वर्षको लागि ७.४९ प्रतिशतको स्थिर ब्याजदरमा सवारी कर्जा र ७ वर्षको लागि ८.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको छ ।