काठमाण्डौ । भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रहित, सुशासन र भ्रष्टाचारविरुद्धको मागसहित जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मारिएका ती व्यक्तिहरूको बलिदानलाई औपचारिक रूपमा सम्मान गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने, “देशभर शान्तिपूर्ण परिवर्तन र उत्तरदायी शासनका लागि उभिएका नागरिकको योगदान ऐतिहासिक रूपमा सम्झनु सरकारको कर्तव्य हो। उनीहरूको बलिदान व्यर्थ हुन दिनु हुँदैन।”
सरकारको यो निर्णयले आन्दोलनमा सहभागी युवापुस्ताको आवाजलाई औपचारिक मान्यता दिएको मानिएको छ। २०८२ भदौको आन्दोलनले देशभर सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको मागलाई उच्च प्राथमिकतामा ल्याएको थियो।
राजनीतिक विश्लेषकहरूका अनुसार, सहिद घोषणाले जनआन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान मात्र होइन, राज्यले आफ्ना त्रुटिहरू सुधार्न तत्पर रहेको संकेत पनि दिन्छ।
सरकारका प्रवक्ता खरेलले भने, “यी सहिदहरू देशको लोकतान्त्रिक, न्यायपूर्ण र पारदर्शी शासन व्यवस्थाका लागि प्रेरणाको स्रोत बन्नेछन्।”
यस निर्णयपछि सम्बन्धित परिवारहरूलाई क्षतिपूर्ति, सम्मानपत्र र दीर्घकालीन सहयोग कार्यक्रमको तयारी पनि सरकारले गर्ने जनाएको छ।

