काठमाण्डौ । अब स्थायी लेखा नम्बर प्रमाणपत्र(प्यान नम्बर) जारी गर्ने लगायतका सेवाहरु सम्बन्धित स्थानिय तहबाट प्रदान गरिने भएको छ । यसअघि यस्तो सुविधा करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएकोमा अबदेखि भने स्थानिय तहबाटै प्रदान हुने भएको हो ।
स्थानिय तहबाट सो सेवाहरु सूचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवाहरु सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाटै प्रवाह हुने व्यवस्था मिलाइएको छ । कर भुक्तानी, करचुक्ता प्रमाणपत्र लगायतका धेरै सेवाहरु अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था हाल कार्यान्वयनमै रहेको छ ।
आन्तरिक राजश्व विभाग तथा अन्तर्गतका कार्यालयको सेवा प्रवाहलाई अझ करदाताको नजिक र प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुरुप विकेन्द्रीकरण गर्ने व्यवस्था गरिएको तथा सेवा प्रवाहको वैकल्पिक व्यवस्था नभएसम्म सम्बन्धित करदाता सेवा कार्यालयहरुबाट सेवा सुचारु हुने विभागले जनाएको छ ।

