काठमाण्डौ । एनआईसी एशिया बैंक लिमीटेडको खराब कर्जाको अनुपातमा सुधार हुन थालेको छ । बैंक व्यवस्थापनले रिकभरिमा ध्यान दिंदा खराब कर्जा अनुपात बिस्तारै सुधार हुन थालेको देखिएको हो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको शुक्रबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अनुपातमा सुधार भई १.७४ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको यही त्रैमासमा २.०८ प्रतिशत थियो । यसरी खराब कर्जाको अनुपात अघिल्लो वर्षको तुलनामा १६.३४ प्रतिशतले सुधार भएको देखिएको छ ।
खराब कर्जामा सामान्य सुधारसँगै बैंकको नाफा पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ११ करोड खूद नाफा कमाएको बैंकको चालु आर्थिक वर्षको सोही अवधिको नाफा १२ करोड २१ लाख देखिएको छ ।
बैंकको खूद ब्याज आम्दानी चाहिँ घटेको देखिएको छ । ब्याजदरमा भएको गिरावट लगायतका कारणले यस्तो अवस्था आएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ५५ करोडमा सीमित खूद ब्याज आम्दानी घटेर समीक्षा अवधिमा २ अर्ब २८ करोडमा सीमित बन्न पुगेको हो ।
अघिल्लो वर्षको १७ करोड ३८ लाख रहेको सञ्चालन नाफा बढेर १९ करोड ३५ लाखको उचाईमा पुगेको छ भने कर्जा तथा सम्भावित नोक्सानी व्यवस्थापनका लागि बैंकले १ अर्ब १८ करोड ६४ लाख बढी रकम इम्प्येरमेन्ट चार्जको रुपमा राखेको छ । अघिल्लो वर्ष १ अर्ब १६ करोड ४३ लाख बढी रकम राखेको थियो ।
नाफामा आएको बढोत्तरीले बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म रहेको इपीएस २.९१ रुपैयाँ रहेकोमा बढेर ३.२१ रुपैयाँ कायम भएको हो ।
समीक्षा अवधिमा बैंकको रिटर्न अन इक्वीटी(आरओई) १.६२ प्रतिशत, रिटर्न अन एसेट ०.१२ प्रतिशत, कस्ट अफ फण्ड ४.६० प्रतिशत र सीडी रेसियो ६६.०८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा आरओई १.४३ प्रतिशत, आरओए ०.११ प्रतिशत, कस्ट अफ फण्ड ६.३० प्रतिशत र सीडी रेसियो ७९.१४ प्रतिशत रहेको थियो ।
अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २ अर्ब २१ करोड वितरणयोग्य घाटा व्यहोरेको यो कम्पनीको यस्तो घाटा समीक्षा अवधिमा भने अझ बढेर ६ अर्ब २४ करोड माथि पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ३७ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब २२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ खर्ब १९ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब २४ अर्ब बढी कर्जा परिचालन गरेको थियो । यसरी बैंकको निक्षेप संकलनमा सुधार देखिए पनि कजा प्रवाह भने घटेको देखिएको छ । नयाँ कर्जा विस्तार भन्दा पुरानो कर्जाको रिकभरिमा ध्यान दिंदा यस्तो अवस्था बनेको हो ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ रु. १९८.७४, मूल्य आम्दानी अनुपात ९७.७३ गुणा, तरलता अनुपात ४३.४२ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल ०.१२ प्रतिशत कायम भएको छ ।

