काठमाण्डौ । शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासंघ (SAFA) द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा मेरिट प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै यो सम्मान प्राप्त गर्ने नेपालको पहिलो बीमा कम्पनी बन्न कम्पनी सफल भएको छ ।
SAFA द्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ ।
यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन, वित्तीय अनुशासन, तथा हित धारकसँगको स्पष्ट र पारदर्शी सञ्चारप्रतिको निरन्तर प्रतिबद्धतालाई अझ प्रस्ट रूपमा पुष्टि गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रकटीकरण प्रक्रिया सुधार गर्ने, प्रतिवेदनको गुणस्तर उन्नत बनाउने, तथा सर्वसाधारणका लागि उपलब्ध गराइने वित्तीय सूचनालाई अझ विश्वसनीय र व्यवस्थित बनाउने दिशामा गर्दै आएको प्रयासको यो महत्वपूर्ण प्रमाण भएको कम्पनीको भनाई छ ।

