काठमाण्डौ । प्रभू बैंकका सीईओ अशोक शेरचनसहितका तीन उच्च पदस्थ पक्राउ परे पनि बैंकको दैनिक कार्यसम्पादन तथा ग्राहकहरुको मनस्थितिमा कुनै प्रभाव नपरेको देखिएको छ ।
हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुख्य कार्यालयबाटै सीईओ, डिसीइओसहितका तीन उच्च पदस्थ कर्मचारीलाई बैंकिंग कसूरको आरोपमा पक्राउ गरेको थियो ।
सो घटनापछि बैंक सञ्चालक समितिले राति आकस्मिक बैठक बोलाएको थियो । सो बैठकमा उच्चपदस्थ पक्राउपछि बैंकबाट निक्षेप निकाल्ने क्रम बढ्नसक्ने र ग्राहकहरु अत्तालिनसक्ने जोखिमको समेत विश्लेषण गरिएको थियो । यिनै जोखिमहरुलाई आधार मानेर सञ्चालक समितिले निरज लम्साललाई कामू सीईओको जिम्मेवारी दिएको थियो ।
हिजै रातिको बैंकको सञ्चालक समितिको बैठकले केही उच्चपदस्थहरुलाई सोमबार बिहान बैंक खुलेपछि देशभरका शाखाहरुको अवस्थाको विषयमा अपडेट गराउन निर्देशन दिएको थियो । सोही निर्देशनपछि खटिएको बैंकको टोलीले हिजोको घटनाकै कारण कुनै पनि शाखाबाट अस्वभाविक रुपमा निक्षेप ननिकालिएको, बैंक आएका ग्राहकहरुमा समेत अत्यासको अवस्था नदेखिएको र बैंक अरु समयजस्तै नर्मल अवस्थामा रहेको रिपोर्टिंग गरेका छन् ।
'कुनै जोखिम आउला भन्ने निकै ठूलो डर थियो । तर, त्यस्तो भएन । ग्राहकले हाम्रो बैंकप्रतिको विश्वासलाई कायमै राखिदिनुभयो ।' एक उच्च पदस्थ कर्मचारीले बिजशालासँग भने-'बाहिर हल्ला चलेजस्तो बैंकमा अब समस्या आउँदैन । एकदुईजना गलत प्रवृतिका व्यक्ति पक्राउ पर्दैमा समग्र संस्था नै जोखिममा पर्छ भन्ने भाष्य जसरी निर्माण गरियो, ग्राहकहरुको विश्वासले ती सबै कुराको एकमुष्ठ खण्डन गरिदिएको छ ।'
यसैबीच, प्रभू बैंकको सञ्चालक समितिले नयाँ परिस्थितिको विषयमा छलफल गर्न भन्दै उच्च व्यवस्थापनलाई आज ३ बजे बोलाएको छ । सो बैठकमा सञ्चालक र उच्च पदस्थ कर्मचारीहरुबीच बैंकलाई व्यवस्थित ढंगले अगाडि बढाउने विषयमा छलफल हुने बुझिएको छ ।
बैंकको भावी नेतृत्व, ग्राहकहरुमा अझ बढी विश्वास आर्जन गर्ने उपाय लगायतको विषयमा समेत छलफल हुने स्रोतको दाबी छ।

