काठमाण्डौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलबार वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन्।
कार्यालय समय सुरु भएलगत्तै विभाग पुगेका मन्त्री यादवले विभागबाट भइरहेको दैनिक कामकारबाही, सेवा प्रवाह तथा वैदेशिक रोजगारसम्बन्धी उजुरीको अवस्थाबारे जानकारी लिएका हुन्।
विभागकी महानिर्देशक मिरा आचार्यले मन्त्री यादवलाई विभागको कार्यसम्पादन, सेवाग्राहीलाई प्रदान गरिँदै आएको सेवा र उजुरी व्यवस्थापनका विषयमा जानकारी गराएकी थिइन्।
अनुगमनका क्रममा मन्त्री यादवले कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गर्नुका साथै वैदेशिक रोजगारीका क्रममा पीडित भएका केही सेवाग्राहीका गुनासा र समस्या पनि सुनेका थिए।
पीडितहरूले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू खुलेआम हिँडडुल गरिरहे पनि सम्बन्धित जिल्लाका प्रहरीले पक्राउ नगरेको गुनासो गरेका थिए।
त्यसपछि मन्त्री यादवले पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई पक्राउ गरी उपस्थित गराउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयसँग तत्काल समन्वय गर्न विभागका कर्मचारीलाई निर्देशन दिए।
उनले सेवाग्राहीलाई अनावश्यक रूपमा अल्झाउने काम नगर्न र विभागको सेवा प्रवाहलाई चुस्त, छिटो तथा प्रभावकारी बनाउन पनि कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

