काठमाण्डौ । रि इन्स्योरेन्स कम्पनीहरुको लगानी सामान्य घट्न पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको विभिन्न क्षेत्रमा गरिएको लगानी ६.०२ प्रतिशतले खस्किएको छ ।
प्राधिकरणका अनु्सार दुई पुनर्बीमा कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा विभिन्न क्षेत्रमा ३७ अर्ब ७५ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा सामान्य कम हो ।
गत आवको पहिलो त्रैमाससम्म पुनर्बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ४० अर्ब १६ करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए । सो अवधिसम्ममा नेपाल रि र हिमालयन रि इन्स्योरेन्स दुईवटै कम्पनीको लगानी रकम घट्न पुगेको छ ।
नेपाल रि इन्स्योरेन्सले पहिलो त्रैमाससम्म १८ अर्ब ८२ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत आवको सोही अवधिसम्मको तुलनामा १०।६५ प्रतिशत कम हो । त्यस्तै, हिमालनय रि इन्स्योरेन्सले विभिन्न क्षेत्रमा १८ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत आवको सोही अवधिसम्मको तुलनामा ०।९१ प्रतिशत कम हो ।
तुलनात्मक रुपमा नेपाल रि भन्दा हिमालयन रि इन्स्योरेन्सको लगानी आक्रामक देखिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण पुगेको क्षतिको दायित्व वहन गर्नुपर्दा नेपाल रि इन्स्योरेन्सको लगानीमा धक्मा पुगेको देखिन्छ । कम्पनीले बीमा कम्पनीहरुलाई साढे २ अर्ब रुपैयाँ दाबी भुक्तानी दिइसकेको छ ।
नेपाल रि इन्स्योरेन्सले सबैभन्दा बढी मुद्दती निक्षेपमा लगानी गरेको छ । कम्पनीले यो क्षेत्रमा १४ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ, जुन गत आवको तुलनामा १५।७३ प्रतिशत कम हो ।
साथै कम्पनीले सेयरबजारमा गरेको लगानी भने तटस्थ राखेको छ । यो क्षेत्रमा कम्पनीले लगानी ९ करोड ४७ लाख रुपैयाँ मात्रै रहेको छ ।
कम्पनीले नागरिक लगानी कोष र म्युचुअल फण्डमा भने ९८८.८८ प्रतिशत बढाएर ५५ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ ।
यता हिमालयन रि इन्स्योरेन्सले पनि मुद्दती निक्षेप, अन्य संस्थापक सेयर र अग्राधिकार सेयर, बण्ड, डिबेञ्चरमा गरेको लगानी घटाएको छ भने सूचीकृत पब्लिक कम्पनीको सेयरमा गरेको लगानी र नागरिक लगानी कोष र म्युचुअल फण्डमा गरेको लगानी भने उल्लेख्य बढाएको छ ।
गत आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ८९ करोड २९ लाख रुपैयाँ सेयरबजारमा लगानी गरिएकोमा चालु आवको यस अवधिसम्म १६४.२४ प्रतिशत बढाएर ५ अर्ब १९ लाख रुपैयाँ पुर्याएको छ ।
यसरी सेयरबजारमा मात्रै दुई पुनर्बीमा कम्पनीको लगानी सो अवधिसम्म ५ अर्ब ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिसम्मको तुलनामा १५६.४२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म पुनर्बीमा कम्पनीहरुले सेयरबजारमा १ अर्ब ९८ करोड ७६ लाख रुपैयाँ मात्रै लगानी गरेका थिए ।


