काठमाण्डौ । देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको नेपालका अग्रणी वाणिज्य बैंकमध्ये एक ग्लोबल आइएमई बैंकले चालुृ आवको दोस्रो त्रैमाससम्म नाफा बढाएको छ । बैंकले समीक्षा अवधिसम्म ३ अर्ब २५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आर्जन गरेको उक्त नाफा अघिल्लो आवको तुलनामा ६.५० प्रतिशतले बढी हो ।
अघिल्लो आवका दोस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
यद्यपी बैंकको खुद ब्याज आम्दानी भने केही घटेको देखिन्छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ८ अर्ब २९ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ८ अर्ब २ करोडमा सीमित बनेको छ । बैंकको वितरणयोग्य मुनाफा समेत ८.२६ प्रतिशतले घटेर २ अर्ब ४२ करोड रुपैयाँमा खुम्चिएको छ । यो अवधिमा बैंकको लाभांश क्षमता १२.२४ प्रतिशत रहेको छ ।
विश्व भू–राजनीतिको प्रभाव र घरेलु व्यवसायिक वातावरण समेत प्रतिकुल बन्दा व्यवसायिकहरुको मनोबल न्यून रही बैंकहरुको ब्याजदर घटेर न्यूनतम अवस्थामा आईपुग्दा समेत बजारमा कर्जाको माग बढ्न सकेको छैन । यसै परिस्थितीका कारण बैंकको कर्जा विस्तार अपेक्षित मात्रामा हुन सकेको छैन बैंकको ब्याज आम्दानी तथा निष्कृत कर्जामा समेत नकारात्मक प्रभाव परेको देखिन्छ ।
यद्यपी बैंकमा रहेको अधिक तरलतालाई गुणस्तरीय लगानीमा लगाई बैंकको कर्जा निक्षेप अनुपातलाई सुधार गरी अधिकतम प्रतिफल प्राप्त गर्न बैंक प्रतिवद्ध रहेको देखिन्छ । बैंकको कर्जा निक्षेप अनुपात ७१.५५ प्रतिशत रहेको छ ।
यस्तै बैंकको रिर्टन अज इक्विटी ९.७५ प्रतिशत, खराब कर्जा अनुपात ४.९१ प्रतिशत र त्रैमासिक औषत आधारदर ५.१६ प्रतिशत रहेको छ । यो अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । बैंकको निक्षेप संकलन ५ खर्ब ५० अर्बबाट बढेर ६ खर्ब ५ अर्ब पुगेको छ ।
कर्जा प्रवाह समेत ४ खर्ब १० अर्ब बाट बढेर ४ खर्ब ३२ अर्ब पुगेको छ । बैंकले उत्पादनशील क्षेत्रका साथै साना तथा मझौला कर्जा प्रवाहमा समेत जोड दिदै बैंकमा रहेको अतिरित्त तरलताको उचित परिचलान गरी कर्जा निक्षेप अनुपातलाई सुधार गर्दै लैजाने रणनीति अबलम्बन गरेको छ ।
अघिल्लो आवमा २४ अर्ब ४५ करोड रुपैयाँ रहेको रिजर्भको आकार बढेर २६ अर्ब २७ करोड पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १७.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९६३.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.२४ गुणा र तरलता अनुपात ३९.८० प्रतिशत कायम भएको छ ।

