–रविन ठकुरी
काठमाण्डौ । नेपालबाट निर्यात हुने चियालाई भारतले रोकिदिँदा सयौंको संख्यामा नेपाली उद्योग बन्द भएका छन् भने लाखौंको रोजगारी संकटमा परेको छ । भारतले प्रयोगशाला परिक्षणको शिर्षकमा नेपालको चिया निर्यातलाई एकतर्फि रुपमा रोकिदिँदा १५२ चिया उद्योग बन्द भएका छन् भने २ लाख कामदारको रोजगारी संकटमा परेका हुन् ।
भारततर्फ हुने सम्पूर्ण चियाको निर्यात र आयातलाई हेर्ने टी बोर्ड भारतले जारी गरेको नयाँ निर्देशिकाले नेपालको चिया निर्यातलाई रोेकिदिएको हो । एक हप्ता अघिदेखि नेपालको चिया निर्यातलाई रोकिदिँदा भारत र नेपालको गोदाममा लाखौं किलोग्राम चिया थन्किएर बसेका छन् ।
नेपालको चिया निर्यात ठप्प, उद्योग र रोजगारी संकटमा
नेपालले भारततर्फ गर्ने चिया निकासीलाई एक हप्ता अघिदेखि एकतर्फि रुपमा रोकिदिएको छ । भारतले नेपालको चियालाई रोकिदिनुको बास्तविक कारणबारे हालसम्म धेरै अनविज्ञ छन् । तर सतहमा आएको कारणलाई आधार मान्दा टी बोर्ड भारतले जारी गरेको नयाँ निर्देशिकालाई दोष देखाइरहेका छन् ।
भारतले नेपालको चिया निर्यातलाई ठप्प बनाउँदा हालसम्म नेपालका १५२ उद्योग बन्द भएका छन् । नेपालको चिया उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरि एकदेखि डेढ लाख कामदार जोडिएका छन् । उनीहरुले यसै क्षेत्रलाई आधार बनाएर आफ्नो जिविकोपार्जन गरिरहेका छन् । नेपालको चिया उद्योगमा प्रत्यक्ष रुपमा भने २६ देखि ३४ हजार श्रमिक आबद्ध छन् ।
हाल भारतले नेपालको चिया निर्यातलाई रोकिदिँदा नेपाली चिया उद्योगका करिब २ लाख हाराहारी कामदारको रोजगारी संकटमा परेको हो । साथै, उद्योगहरु पनि बन्द हुन पुगेका हुन् । नेपालबाट भारत पुगेका ३ लाख किलोग्राम नेपाली चिया भारतीय गोदाममा थन्किएर बसेका छन् ।
त्यसैगरि, भारततर्फ निकासीका लागि तयारी अवस्थामा राखिएको १२ लाख किलोग्राम चिया नेपालको गोदाममा थन्किएर बसेका छन् । समस्याले तत्कालै निकास नपाए ती चिया गोदाममा नै सडेर विग्रने अवस्थामा पुग्ने भन्दै नेपाली व्यवसायीले चिन्ता व्यक्त गरिरहेका छन् ।
भारतले किन रोक्यो नेपाली चिया ? मारमा व्यवसायी
भारत सरकारको वाणिज्य एवं उद्योग मन्त्रालयको वाणिज्य विभागअन्तर्गत टी बोर्ड भारत पर्दछ । टी बोर्ड भारतले सम्पूर्ण चियाको आयात र निर्यातलाई हेर्ने गर्दछ । यही टी बोर्डले फेब्रुअरी १०, २०२६ मा भारततर्फ निकासी हुने चियासम्बन्धि नयाँ निर्देशिका जारी गरेको छ । टी बोर्ड भारतले जारी गरेको नयाँ निर्देशिकाको (एसओपि) स्ट्याण्डर्ड अपरेटिङ्ग प्रोसिडुअरको बुँदाहरुमा परिवर्तन गरेको छ ।
भारततर्फ निकासी हुने चियाले उक्त (एसओपि) को गुणस्तर परिक्षण पास गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना गरेको हो । प्रयोगशाला परिक्षण गरिएको चियालाई फसाई (एफएसएसएआई) ले पास गरि अघि बढाएपछि मात्रै भारतीय बजारमा नेपाली चिया प्रवेश गर्न पाउने उल्लेख गरिएको छ ।
तर चियालाई परिक्षण गरिएको प्रयोगशाला रिपोर्ट आउनका लागि नै १५ दिन (२ हप्ता) लाग्ने गर्दछ । यसको रिपोर्ट आउने समयसम्म नेपाली चियालाई गोदाममा राख्नुपर्दछ । दुई हप्तासम्म गोदाममा राखेको चियाको शुल्कले पनि नेपाली चिया उद्योगीलाई मर्कामा पारेको छ ।
प्रयोगशाला परिक्षणमा पास भएका चियालाई भारतीय बजारमा प्रवेश गर्न दिइन्छ । तर प्रयोगशाला परिक्षणमा पास नभएका चियालाई पुनः नेपाल फिर्ता पठाउनुपर्ने हुन्छ । नभए भारतीय भूमिमा नै नष्ट गर्नुपर्ने हुन्छ । भारतीय भूमिबाट फिर्ता आएका ती चियालाई नेपाल भित्र्याउन पनि थप ४० प्रतिशत भन्सार शुल्क नेपाली व्यवसायीले बुझाउनु पर्दछ ।
यसले चिया व्यवसायी दोहोरो मारमा पर्ने देखिन्छ । नेपाली चिया व्यवसायीले आफुले उत्पादन गरेको चिया बेच्न पनि पाएनन् भने आफ्नै चिया फिर्ता ल्याउन पनि थप शुल्क बुझाउनु पर्ने बाध्यात्मक अवस्था आएको छ ।
चिया निकासी खुलाउन व्यवसायीको माग, के छ सरकारी पक्षको तयारी ?
भारतले हाल नेपाली चियालाई एक्कासी रोक्नुको वास्तविक कारणको विषयमा नेपाली पक्ष अनविज्ञ छन् । तर टी बोर्ड भारतले गरेको यस कदमले नेपालस्थित चिया उद्योग, व्यवसायी र श्रमिक मर्कामा परेका छन् । पहिले पनि यस प्रकारको चिया निकासीमा भारतीय पक्षले रोक लगाएका थिए । तर नेतृत्व वर्गको पहलले तुरुन्तै खुलेको थियो ।
‘भारतीय टी बोर्डले रोकेको नेपाली चिया निकासीलाई पुनः खुलाउन कुटनीतिक वार्ताबाहेक अरु विकल्प छैन । यसका लागि कामहरु भइरहेका छन् । अबको ८ देखि १० दिनभित्र यसले निकास पाउने अपेक्षा राखेका छौं’, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने ।
‘समस्यालाई विभिन्न निकाय र मन्त्रालयमा पुर्याउने काम भइरहेको छ । भारतीय टी बोर्डसँग हामीले प्रत्यक्ष कुरा गर्न मिल्दैन । यसका लागि परराष्ट्र र उद्योग मन्त्रालयलले कामकारवाही अघि बढाउनुपर्ने हुन्छ’, उनले भने ।
नेपालको चिया निकासी खुलाउनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा कार्यदल बनेको छ । यस मन्त्रालयअन्तर्गतको द्वपक्षीय व्यापार तथा पारवाहन शाखा (भारत) का उपसचिव सीता निरौला फुयालको नेतृत्वमा कार्यदल बनेको हो । कार्यदलले कुटनीतिक संवाद गरिरहेको छ । कुटनीतिक संवादबाट भारतर्फ चिया निकासी खुलाउने प्रयास भइरहेको छ ।
हाल भारतको टी बोर्डले नेपालको चिया निकासी रोकिदिँदा नेपाली चिया व्यवसायी पिडित बनिरहेका छन् । भारतीय पक्षले किटनाशक औषधी प्रयोग गरेका चिया नलैजाने निर्णयले प्रयोगशाला परिक्षणको प्रस्ताव अघि बढाएको हो । यसले गर्दा भारतीय भूमिमा र नेपाली गोदाममा लाखौं केजी नेपाली चिया त्यतिकै थन्किएर बसेका छन् ।
‘ल्याबमा स्याम्पल टेस्ट गर्नका लागि २ हप्तासम्म चियालाई गोदाममा राख्नुपर्ने हुन्छ । यस अघि एक पटक स्याम्पल टेस्ट पछि उद्योगबाट सिँधै चिया पठाउन पाएका थियौं । अहिले पनि पहिलेको जस्तै गरि पठाउन पाए हुन्थ्यो । यसरी भारतीय गोदाममा राखेर होइन’, चिया निर्यातकर्ता शान्ता बाँस्कोटा कोइरालाले बताईन् ।
नेपालबाट कति हुन्छ, चिया निकासी ? अर्थोडक्स चिया उत्पादनको अवस्था
आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ४ अर्ब ५९ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ९८ हजार ६ सय ६० केजी चिया निर्यात भएको हो । यस अवधिमा ९ करोड २ लाख ९० हजार रुपैयाँ बराबरको १ लाख १३ हजार ३ सय ७२ केजी आयात भएका हुन् । समिक्षा अवधिमा २० हजार ६ सय २ हेक्टर जमिनमा चिया रोपण गरिएको थियो भने २ करोड ६१ लाख केजी तयारी चिया उत्पादन भएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६२ करोड ५० लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख १६ हजार ३४ केजी चिया निकासी भएका हुन् । यस अवधिमा ३ करोड ७८ लाख ३० हजार रुपैयाँ बराबरको ४४ हजार ३ सय १८ केजी चिया आयात गरिएको हो ।
नेपालले गर्ने कुल निर्यातमध्ये ८६ प्रतिशत निकासी भारततर्फ हुने गर्दछ । भारतीय बजार नेपाली चियाको सबैभन्दा ठुलो बजार रहेको छ । नेपालमा १५ हजार १३२ जना चिया कृषकहरु, १७० वटा टि स्टेट र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरुमार्फत ६० हजार रोजगारी सिर्जना गरेको अनुमान छ ।
आर्थिक वर्ष २०८१/८२ मा ६३ लाख ३७ हजार ४ सय ६३ केजी अर्थोडक्स चिया उत्पादन भएको हो । झापा, इलाम, पाँचथर, धनकुटा, कास्की, लमजुङ्ग, तेह्थुम, ताप्लेजुङ्ग, भोजपुर, बाग्लुङ, नुवाकोट, सेलुखुम्बु, मोरङ, सिन्धुपाल्चोक, उदयपुर, ओखलढुङ्गा, दोलखा र रामेछापमा उक्त अर्थोडक्स चिया उत्पादन भएका हुन् ।

