काठमाण्डौ । निष्कासन प्रक्रियामा भएको मूल्यसम्बन्धी प्राविधिक त्रुटिका कारण सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक सेयर (आईपीओ)को आवेदन अस्थायी रूपमा रोकिएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले मेरो सेयर प्रणालीबाट उक्त कम्पनीको आईपीओ सूची हटाएको हो।
निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार, सी–आस्वा प्रणालीमा प्रति कित्ता सेयरको अंकित मूल्य १०० रुपैयाँ हुनुपर्नेमा भुलवश १० रुपैयाँ कायम भई आवेदन खुला भएको थियो। उक्त प्राविधिक कमजोरी सच्याउन आवश्यक परेपछि सीडीएससीको समन्वयमा आवेदन प्रक्रिया तत्कालका लागि स्थगन गरिएको जनाइएको छ।
कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका ५ लाख ७२ हजार ४३१ कित्ता साधारण सेयर निष्कासन गरेको थियो। आइतबारदेखि आवेदन खुला गरिने सूचना सार्वजनिक भइसकेको अवस्थामा प्रणालीगत त्रुटि देखिएपछि आवेदन प्रक्रिया रोकिएको हो।
कुमारी क्यापिटलले जारी गरेको सूचनामा सफ्टवेयर त्रुटि पूर्ण रूपमा समाधान भएपछि आईपीओ आवेदन पुनः सुचारु गरिने स्पष्ट गरिएको छ। ‘समस्या समाधान भए पश्चात् आवेदन प्रक्रिया पुनः सञ्चालन गरिनेछ,’ सूचनामा उल्लेख छ।

