काठमाण्डौ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि ती देशका ८९ सेवा प्रदायकसँग नेपाल टेलिकमले सम्झौता गरेको छ ।
चालु आर्थिक वर्षको साउन महिना पश्चात लाटभिया, स्लोभेनिया, टर्की, ताइवान–आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवाप्रदायकसँग र पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवाप्रदायकसँग यसका लागि सम्झौता भएको छ ।
नेपाल टेलिकमले पहिले देखि नै अन्य विभिन्न देशहरुमा यो सुविधा उपलब्ध गराइरहेको छ । अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बेलारुस, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, घाना, ग्रीस, हङकङ, हंगेरी, आइसल्यान्ड, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लाटभिया, लिच्टेन्सटाइन र लक्जेम्बर्गमा रोमिङ सेवा प्रयोग गर्न सकिन्छ । त्यसैगरी मलेसिया, मकाउ, माल्टा, मौरिसस, मेक्सिको, म्यानमार, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, पाकिस्तान, फिलिपिन्स, पोर्चुगल, कतार, रोमानिया, रसिया, साउदी अरेबिया, सिंगापुर, स्लोभेनिया, दक्षिण कोरिया, श्रीलंका, स्विडेन, स्विजरल्यान्ड, ताइवान–आरओसी, थाइल्यान्ड, टर्की, युएई, युके, युएसए, उज्वेकिस्तान, भियतनाम र लाओसमा समेत रोमिङ सेवा सेवा प्रयोग गर्न सकिन्छ । रोमिङ सेवा अन्तर्गत भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ । आगामी दिनमा क्रमशः अन्य देशहरुमा समेत यो सेवा उपलब्ध हुनेछ ।
नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरुलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सेवा मध्ये रोमिङ सेवा निकै नै उपयोगी छ ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि नेपाल टेलिकमले भारत बाहेक माथि उल्लिखित अन्य देशमा रोमिङ सेवा स्वतः सुचारु हुने सुविधा उपलब्ध गराएको छ । भारतका लागि चाहिं आफ्नो मोबाइलबाट *1415*7# डायल गरी मेनुमा गएर 'Roaming' विकल्प छान्नुपर्ने हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताको हकमा सेवा सुचारु गर्न मोबाइलमा कम्तिमा पाँच हजार रुपैंया ब्यालेन्स रहेको हुनुपर्छ । प्रयोगकर्ता नेपालमा भएको अवस्थामा आफ्नो मोबाइलबाट *1415*7# डायल गरी सेवा सुचारु गर्न सकिन्छ ।
नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीबाट पनि यो सेवा एक्टिभ गर्नको लागि इमेल मार्फत अनुरोध गर्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले नेपाल टेलिकमको वेबसाइटमा रहेको डाउनलोड लिंक अन्तर्गत इन्टरनेशनल रोमिङमा क्लिक गरी प्रिपेड रोमिङ रजिष्ट्रेशन फर्म डाउनलोड गरी रीतपूर्वक फारम भरिसके पछि आफ्नो नागरिकता वा पासपोर्टको प्रतिलिपि र भरिएको फारमलाई [email protected] मा इमेल गर्नुपर्छ ।
यसरी इमेल मार्फत प्राप्त भएको सेवा एक्टिभेसन अनुरोधलाई नेपाल टेलिकमको रोमिङ सपोर्ट टिमले प्रमाणिकरण गरी (अनुरोधकर्ताको नाम, ठेगाना लगायत अन्य विवरण कम्पनीको सिस्टममा उपलब्ध विवरणसँग मेल खाने÷नखाने यकिन गरी) नियमपूर्वक अनुरोध प्राप्त प्रिपेड मोबाइलमा रोमिङ सेवा उपलब्ध गराइन्छ । सामान्यतया, रोमिङ सेवा सक्रिय भइसकेपछि ग्राहकको मोबाइल स्वचालित रूपमा विदेशी नेटवर्कमा ीबतअज हुन्छ ।
भारत बाहेक अन्य देशहरूमा सोही देशको मोबाइल नेटवर्कमा स्वतः रूपमा कनेक्ट हुन्छ । भारतमा भने प्रिपेड तथा पोष्टपेड दुवै मोबाइल प्रयोगकर्ताले म्यानुअल रूपमा नै नेटवर्क चयन गर्नुपर्ने हुन्छ । अन्य देशमा पनि यदि स्वतः रूपमा कनेक्ट भएन भने, मोबाइल सेटको सेटिङमा गएर ‘मोबाइल नेटवर्क’ मा ‘सर्च नेटवर्क्स÷सेलेक्ट क्यारियर’ गरी आफूले नै नेटवर्क छान्न सकिन्छ ।

