काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले धितो बन्धकसम्बन्धी रोक्का तथा फुकुवा सेवा अब पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ। यसका लागि कम्पनीले नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र विभागका तर्फबाट महानिर्देशक शिव प्रसाद रेग्मीले हस्ताक्षर गरेका छन्। यससँगै अब धितो बन्धकको रोक्का तथा फुकुवा सम्बन्धी सम्पूर्ण प्रक्रिया सूचना प्रविधिमा आधारित भई भूमि प्रशासन निर्देशिका २०८१ अनुसार अनलाइनमार्फत सम्पन्न गरिनेछ।
यसअघि यस्ता कार्यहरू जग्गाधनी, ऋणी तथा वित्तीय संस्थाका प्रतिनिधिको भौतिक उपस्थितिमा मालपोत कार्यालयमा गरिन्थ्यो। नयाँ प्रणाली लागू भएसँगै फाइनान्सले आफ्नै प्रणालीमार्फत केन्द्रीय कार्यालयबाट देशभरका शाखामार्फत सेवा सञ्चालन गर्न सक्नेछ।
यो सुविधाले ग्राहकलाई कर्जा उपभोग गर्दा छिटो, सहज र झन्झटमुक्त सेवा प्राप्त हुने अपेक्षा गरिएको छ। साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने कम्पनीको लक्ष्य रहेको जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ग वर्गको इजाजतपत्र प्राप्त समृद्धि फाइनान्स लिमिटेडले हाल देशभर १३ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर कोडजस्ता आधुनिक डिजिटल बैंकिङ सेवा पनि उपलब्ध गराउँदै आएको छ।

