काठमाण्डौ । आफ्नै कार्यकालमा विभिन्न विवादास्पद निर्णयका कारण आलोचनामा परेका कामचलाउ अर्थमन्त्री डा. रामेश्वर खनालले प्रधानमन्त्री बन्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको शपथ साइत हेरेर गरिन लागेको विषयमा दिएको टिप्पणीप्रति तीव्र प्रतिक्रिया आएको छ।
खनालले सामाजिक सञ्जालमार्फत “साइत हेरेर शपथ गर्ने परम्परा मन नपरेको” भन्दै टिप्पणी गरेपछि सामाजिक सञ्जालमा नै उनको धारणा प्रश्नको घेरामा परेको हो।
विशेषगरी, आफ्नै कार्यकालमा आर्थिक नीतिहरू, कर सम्बन्धी निर्णय तथा पारदर्शितामाथि उठेका प्रश्नहरू अझै समाधान नभएको अवस्थामा खनालले अर्काको संस्कार र प्रक्रियामाथि टिप्पणी गर्नु उपयुक्त नभएको भन्दै आलोचना भइरहेको छ।
रास्वपाका नेता बालेन शाहले शुक्रबार मध्याह्न १२:३४ को साइतमा प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्। यसलाई समर्थकहरूले नेपाली समाजमा विद्यमान सांस्कृतिक अभ्यासको सम्मानको रूपमा व्याख्या गरेका छन्।
यसैबीच, खनाल स्वयं बालेन नेतृत्वमा बन्ने सरकारमा पुनः अर्थमन्त्री बन्ने प्रयासमा रहेको चर्चा पनि चलेको थियो। सोही प्रयोजनका लागि उनले राष्ट्रियसभाको एक रिक्त पदमा आफूलाई सिफारिस गरिदिन प्रधानमन्त्रीसमक्ष पहल गरेको समाचार सार्वजनिक भएका थिए। तर, प्रधानमन्त्रीले उक्त पदमा गृहमन्त्री ओमप्रकाश अर्यालको नाम अगाडि सारेपछि खनालले केही दिनअघि ‘कुलिङ पिरियड’ सुरु भएको भन्दै मन्त्रालय जान छाडेका थिए।
यद्यपि, खनालले आफूले प्रधानमन्त्रीसँग कुनै प्रकारको अनुरोध नगरेको र पदलोलुप नभएको दाबी गर्दै आएका छन्। तर उनको कार्यकालभरि सानोतिनो कामलाई समेत ठूलो उपलब्धि जस्तो प्रस्तुत गर्ने ‘स्टन्ट शैली’प्रति नागरिक तहबाटै व्यापक आलोचना हुँदै आएको थियो, जसले उनको पछिल्लो अभिव्यक्तिलाई अझ प्रश्नको घेरामा तानेको देखिन्छ।
विश्लेषकहरूका अनुसार, लोकतान्त्रिक प्रणालीमा जनमतबाट निर्वाचित नेतृत्वले अपनाउने सांस्कृतिक वा व्यक्तिगत अभ्यासलाई अनावश्यक रूपमा आलोचना गर्नु भन्दा आफ्नै कार्यकालको उपलब्धि र जवाफदेहितामा केन्द्रित हुनु उपयुक्त हुन्छ।
कतिपयले भने खनालको टिप्पणीलाई “आफ्नै असफलता ढाकछोप गर्न गरिएको ध्यान मोड्ने प्रयास”को रूपमा समेत व्याख्या गरेका छन्।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले “जनताको विश्वास जितेर आएका नेतृत्वलाई सम्मान गर्नु नै लोकतन्त्रको मूल भावना हो” भन्दै खनालको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।
यसैबीच, बालेन शाहको शपथ समारोहलाई नयाँ राजनीतिक अध्यायको सुरुवातका रूपमा हेरिएको छ, जहाँ जनमत र सांस्कृतिक पहिचान दुबैलाई सँगसँगै अघि बढाउने संकेत देखिएको छ।

