काठमाण्डौ । नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै थ्रीजी सेवालाई फोरजीमा क्रमशः रूपान्तरण गर्ने कार्य अघि बढाएको छ । यस अनुसार थ्रीजी सिम प्रयोग गरिरहनु भएका ग्राहकहरूलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएस मार्फत जानकारी गराइएको छ ।
सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्नेछन् । यसका लागि ग्राहकले पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
फोरजीमा परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत आफ्नो पहिचान खुल्ने कुनै आधिकारिक परिचयपत्रहरु देखाएर नयाँ फोरजी सिम लिन सकिनेछ ।
नेपाल टेलिकमले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा रुपान्तर गर्ने कार्यलाई तीव्र बनाएको छ । थ्रीजी भन्दा फोरजी प्रविधिको सिम चलाउँदा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा सुधार हुने भएकाले यसबाट ग्राहकलाई फाइदा हुने कम्पनीको विश्वास छ ।
यसका साथै आफ्नो सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि *444# डायल गर्न सकिन्छ । यसबाट फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्टी सेवा समेत सहजै सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ ।

