काठमाण्डौ । सरकारी निकायमा नयाँ नेतृत्व आएपछि फूल, खादा र शुभकामनाले स्वागत गर्ने सामान्य परम्परा हो । तर, नेपाल धितोपत्र बोर्डमा भने नयाँ अध्यक्ष डा. गोपालप्रसाद भट्टको स्वागत केवल औपचारिक सम्मानमै सीमित रहेन । महिनौंदेखि जारी कर्मचारी आन्दोलन नै स्थगित गरेर बोर्डका कर्मचारीले नयाँ नेतृत्वप्रतिको विश्वास प्रकट गरेका छन् ।
नेपालको पूँजीबजारको प्रमुख नियामक निकाय धितोपत्र बोर्डमा सेवासुविधा कटौतीलगायतका विषयलाई लिएर कर्मचारी लामो समयदेखि आन्दोलनमा थिए । बोर्डको मुख्य गेटदेखि कार्यालय परिसरभित्रसम्म विरोधका ब्यानर, पर्चा र दैनिक आन्दोलनका सूचना टाँसिएका थिए । कर्मचारीहरूले दिनहुँ ‘आन्दोलन यतिऔं दिनमा’ पुगेको भन्दै विरोधको निरन्तरता देखाइरहेका थिए ।
पूर्वअध्यक्ष सन्तोषनारायण श्रेष्ठको कार्यकालमै सुरु भएको असन्तुष्टि नयाँ अध्यक्ष नियुक्ति हुँदासम्म पनि रोकिएको थिएन । नेतृत्वविहीन अवस्थादेखि नयाँ अध्यक्ष आउँदासम्म बोर्डभित्र कर्मचारीको असन्तोष सतहमै देखिएको थियो । तर, डा. भट्टले अध्यक्षको जिम्मेवारी सम्हालेपछि पहिलो प्राथमिकता कर्मचारीलाई विश्वासमा लिने विषयलाई दिए ।
बोर्डमा प्रवेश गरेलगत्तै उनले कर्मचारीहरूसँग विशेष सम्बोधन कार्यक्रम राखे । सम्बोधनका क्रममा भट्टले बोर्डलाई नयाँ शिराबाट अघि बढाउन सबैको साथ आवश्यक रहेको बताए । कर्मचारीका गुनासा र माग आफूले सुन्ने, बुझ्ने र सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले तत्काल आन्दोलन स्थगित गरेर काममा सहयोग गर्न आग्रह गरेका थिए ।
‘पूँजीबजारको दीर्घकालीन विकासका लागि परिपक्व योजना बनाउनुछ, त्यसका लागि कर्मचारीको साथ अनिवार्य छ,’ अध्यक्ष भट्टको भनाइ उद्धृत गर्दै कर्मचारी स्रोतले भन्यो, ‘भर्खरै आएको छु, मलाई समय दिनुस् र सहयोग गर्नुस् भन्ने उहाँको आग्रह थियो ।’
अध्यक्ष भट्टको यही प्रतिबद्धतालाई सम्मान गर्दै बोर्डको आधिकारिक कर्मचारी युनियनले जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । आन्दोलन स्थगित भएपछि बोर्डको मुख्य गेट र कार्यालय परिसरमा टाँगिएका विरोधका ब्यानर तथा पर्चाहरू हटाइएको छ । कर्मचारीहरूलाई आन्दोलन स्थगित भएको जानकारीसहित सन्देशसमेत पठाइएको छ ।
बोर्डको आधिकारिक कर्मचारी युनियनका प्रेसिडेन्ट राजु जिसीले नयाँ अध्यक्षको वचनलाई सम्मान गर्दै आन्दोलन स्थगित गरिएको बताए । बिजशालासँग कुरा गर्दै उनले भने, ‘गेट र भित्र ब्यानर राखिएको थियो । हरेक दिन आन्दोलन यतिऔं दिनमा पुग्यो भन्दै पोस्टर टाँसिँदै आएको थियो । बोर्डको सेवा पहिल्यै खुलाइएको थियो, तर विरोधका कार्यक्रम दैनिकजसो जारी थिए । नयाँ अध्यक्षले नयाँ शिराबाट अघि बढ्ने कुरा गर्नुभयो । म गर्छु, तर मलाई समय चाहिन्छ भन्नुभयो । त्यसैले हामीले उहाँलाई सहजीकरण गर्ने निर्णय गर्यौं ।’
जिसीका अनुसार कर्मचारीले उठाएका माग सरकार, अर्थ मन्त्रालय र बोर्ड नेतृत्वबीच राम्रो समन्वय भए तीन महिनाभित्र सम्बोधन गर्न सकिने खालका छन् । उनले बोर्डको सेवासुविधा नेपाल राष्ट्र बैंकको तुलनामा कमजोर रहेको दाबी गर्दै नियमावली, निर्देशिका र कार्यविधिमा सुधार गरेर धेरै विषय समाधान गर्न सकिने बताए ।
‘उहाँ आफैं पहिले कर्मचारी भएर काम गरिसकेको व्यक्ति हो । राष्ट्र बैंकको कार्यकारी निर्देशक भइसकेकाले विधि, प्रक्रिया र कर्मचारीको मनोविज्ञान बुझ्नुहुन्छ,’ जिसीले भने, ‘पहिले अध्यक्ष र सरकारबीच ट्यूनिङ नमिल्दा हाम्रो माग अलपत्र परेको थियो । अहिले सरकार, अध्यक्ष र कर्मचारी एउटै लाइनमा जान सक्ने अवस्था देखिएको छ ।’
कर्मचारी युनियनले बोर्डको आफ्नै भवनको विषयसमेत छिट्टै टुंग्याउनुपर्ने माग राखेको छ । जिसीका अनुसार नयाँ अध्यक्षले बोर्डका संरचनागत समस्या, कर्मचारीका सेवासुविधा र पूँजीबजार सुधारका विषयलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
‘हाम्रो तर्फबाट कुनै व्यवधान हुँदैन, कर्मचारीको पूर्ण सहयोग रहन्छ भनेर हामीले भनिसकेका छौं,’ जिसीले थपे, ‘उहाँले कर्मचारीलाई साथमा लिएर पूँजीबजारको भविष्यको योजना बनाउने कुरा गर्नुभएको छ । कर्मचारीहरू उहाँको कुराबाट कन्भिन्स भएपछि आन्दोलन स्थगित गरिएको हो ।’
लामो समय नेतृत्व विवाद, कर्मचारी असन्तुष्टि र नियामकीय कमजोरीको आलोचनामा परेको धितोपत्र बोर्डमा नयाँ अध्यक्षको आगमनसँगै कम्तीमा आन्तरिक वातावरणमा सकारात्मक संकेत देखिएको छ । कर्मचारी आन्दोलन स्थगित हुनुलाई बोर्डभित्र डा. भट्टप्रतिको प्रारम्भिक विश्वासका रूपमा हेरिएको छ ।
अब अध्यक्ष भट्टमाथि दोहोरो दबाब छ– एकातिर कर्मचारीका मागलाई समयमै सम्बोधन गर्ने, अर्कोतर्फ लामो समयदेखि विकृति र अविश्वासले गाँजिएको पूँजीबजारलाई सुधारको ठोस दिशामा लैजाने । कर्मचारीले आन्दोलन रोकेर दिएको ‘विश्वासको समय’ उनले कसरी सदुपयोग गर्छन्, त्यसैले धितोपत्र बोर्डको नयाँ यात्राको वास्तविक परीक्षा तय गर्नेछ ।

