काठमाण्डौ । विश्व बैंकले नेपालमा सरोकारवालाहरूको धारणा बुझ्ने उद्देश्यले ‘कन्ट्री ओपिनियन सर्भे २०२६’ शुरु गरेको छ।
विश्व बैंक समूहले नेपालमा आफ्नो कार्य, संलग्नता तथा प्रभावकारिताबारे विभिन्न सरोकारवालाहरूको दृष्टिकोण संकलन गर्न यो सर्वेक्षण सञ्चालन गरेको हो। संस्थाले यसबाट प्राप्त सुझावलाई आफ्नो कार्यशैली सुधार्ने तथा नेपालको विकास प्रक्रियामा भूमिकालाई अझ प्रभावकारी बनाउने आधार बनाउने जनाएको छ।
सर्वेक्षणमा नेपाल सरकारका प्रतिनिधि, विकास साझेदार, निजी क्षेत्र, प्राज्ञिक समुदाय, सञ्चारमाध्यम तथा नागरिक समाजका प्रतिनिधिहरूलाई समेटिनेछ। विश्व बैंकले सम्बन्धित सरोकारवालासँग प्रत्यक्ष सम्पर्क गरी प्रश्नावली वितरण र प्रतिक्रिया संकलन गर्ने जनाएको छ।
यस प्रक्रियालाई व्यवस्थित र निष्पक्ष बनाउन विश्व बैंकले नेपालस्थित स्वतन्त्र अनुसन्धान संस्था ‘फ्याक्ट्स नेपाल’लाई जिम्मेवारी दिएको छ। आगामी केही हप्ताभित्र उक्त संस्थाका प्रतिनिधिहरूले सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरी सर्वेक्षण फारम उपलब्ध गराउने र संकलन गर्नेछन्।
विश्व बैंकका अनुसार सबै व्यक्तिगत प्रतिक्रिया गोप्य राखिनेछन् र ती प्रतिक्रियालाई एकीकृत रूपमा विश्लेषण गरिनेछ। प्राप्त निष्कर्षहरू विश्व बैंकको नेपाल टोलीलाई बुझाइनेछ, जसका आधारमा संस्थाको आगामी रणनीति, सञ्चालन प्रक्रिया र नीतिगत प्राथमिकताहरू तय गरिनेछ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका अपरेसन म्यानेजर एस. आमिर अहमदले सर्वेक्षणमा प्राप्त हुने स्पष्ट र इमानदार प्रतिक्रियाले संस्थाको प्रभावकारिता सुधार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

