काठमाण्डौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंको चुन्देवीमा सम्पर्क कार्यालय खोलेर आन्तरिक छलफललाई तीव्रता दिएको छ ।
गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएका देउवा पक्षका नेताहरू आगामी रणनीति तय गर्न सोमबार दिउँसो चुन्देवीस्थित सम्पर्क कार्यालयमा भेला भएका हुन् ।
सातै प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेका देउवा पक्षीय नेताहरूले अब राष्ट्रिय भेलाको मिति तय गर्ने विषयमा छलफल गरिरहेका छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा भइरहेको छलफललाई १५औं महाधिवेशनको तयारीसँग जोडेर हेरिएको छ ।
छलफलमा नेता शेखर कोइराला पक्षका नेताहरू भने सहभागी छैनन् । कोइराला स्वयं पनि विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् । चुन्देवीको सम्पर्क कार्यालयमा देउवा र खड्का निकट नेताहरू मात्रै जुटेका छन् ।
छलफलमा नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, उमाकान्त चौधरी, प्रकाशशरण महत, आनन्द ढुंगाना, रमेश लेखक, एनपी साउद, जीतजंग बस्नेत, मीनबहादुर विश्वकर्मा, श्याम घिमिरे, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलगायत सहभागी छन् ।
देउवा पक्षीय नेताहरूले १५औं महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको दाबी गरेका छन् । तर, विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको शक्ति सन्तुलन र आगामी नेतृत्व प्रतिस्पर्धालाई ध्यानमा राख्दै देउवा पक्षले छुट्टै रणनीतिक मोर्चाबन्दी सुरु गरेको अर्थमा यसलाई हेरिएको छ ।

