काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालय स्रोतअनुसार वैशाख २१ गते साँझ ५ बजेसम्म तोकिएको अन्तिम समयभित्र ४७ जनाले आवेदन दर्ता गराएका हुन् ।
सन्तोष नारायण श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पद पूर्तिका लागि अर्थ मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गरेको थियो। सो सूचनामार्फत ७ दिनभित्र इच्छुक तथा योग्य उम्मेदवारलाई आफ्नो व्यक्तिगत विवरण र स्वघोषणा फाराम मात्र बुझाउन आग्रह गरिएको थियो।
आज साँझ ५ बजेसम्म सचिवालयमा आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । सेबोनको अध्यक्ष पदका लागि आवेदन दिनेहरुमा सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्य, पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, पुरुषोतमराज चिमोरिया (शिव चन्द्र), पूर्व मर्चेन्ट बैंकर झवेन्द्र खत्री, पूर्व मर्चेन्ट बैंकर विनोद आचार्य लगायतकाले आवेदन दिएका छन् ।
मन्त्रीपरिषदको गत वैशाख ८ गते बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन कुमार दाहाल सदस्य रहेका छन् ।
समितिले परेका आवेदनहरुबाट ५ जना छनौट गर्नेछ । ५ जनाले कार्ययोजनासहितको प्रस्तुती दिनेछन् । अर्थ मन्त्रालयले कार्ययोजना प्रस्तुतीको आधारमा ३ जनाको नाम मन्त्रीपरिषद्मा पठाउने छ र ती ३ जनामध्येबाट एक जना बोर्डको अध्यक्ष चयन हुनेछन् ।

