काठमाण्डौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १,८०६ सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा कारबाही गरिएको छ ।
कारबाहीबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ७७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६२ जना तथा ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १०६ जनामाथि कारबाही गरिएको हो ।
यस्तै, तीव्र गतिमा सवारी चलाउने ८८ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ८४, निषेधित क्षेत्रमा हर्न बजाउने ३९, सडक पेटीमा पार्किङ गर्ने ७७ र एकतर्फी सडकमा सवारी चलाउने १११ जनालाई कारबाही गरिएको छ ।
अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १,०६२ जना पनि कारबाहीको दायरामा परेका छन् ।

