• शनिबार, बैशाख २६,२०८३ 08:26:11
बजेटोत्सभ

अब नीति-बजेटमा नागरिकको ‘डाइरेक्ट इन्ट्री’, सरकारले खोल्यो डिजिटल पोर्टल

अब नीति-बजेटमा नागरिकको ‘डाइरेक्ट इन्ट्री’, सरकारले खोल्यो डिजिटल पोर्टल

काठमाण्डौ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई ‘जनताको दस्तावेज’ बनाउने दाबी गर्दै सरकारले पहिलोपटक नागरिकलाई प्रत्यक्ष रूपमा नीति निर्माण प्रक्रियामा जोड्ने डिजिटल अभियान सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याउँदै देशभित्र र विदेशमा रहेका नेपालीलाई बजेट र विकास प्राथमिकताबारे आफ्ना धारणा सिधै सरकारसमक्ष पठाउन आह्वान गरेको हो।

सरकारले आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताको वास्तविक आवश्यकता, स्थानीय तहका समस्या र विज्ञहरूको सुझाव समेट्ने उद्देश्यसहित यो प्लेटफर्म सञ्चालनमा ल्याएको जनाएको छ। सरकारी दाबीअनुसार यसले नीति निर्माण प्रक्रियालाई सिंहदरबारको प्रशासनिक घेराबाट बाहिर निकालेर नागरिकमैत्री र सहभागीमुखी बनाउने प्रयास गर्नेछ।

पोर्टलमार्फत सर्वसाधारण, अर्थविद्, निजी क्षेत्र, विषय विज्ञ तथा विदेशमा रहेका नेपालीहरूले बजेट निर्माण, विकास आयोजना, आर्थिक सुधार र सार्वजनिक सेवासम्बन्धी सुझाव प्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयसम्म पुर्‍याउन सक्ने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार सुझाव संकलन मात्र नभई त्यसको ‘ट्र्याकिङ सिस्टम’ समेत राखिएको छ। नागरिकले आफूले पठाएको सुझाव कुन अवस्थामा पुगेको छ, त्यसमा सरकारले के कदम चालिरहेको छ भन्ने जानकारी समेत अनलाइनमार्फत हेर्न सक्ने सुविधा दिइएको छ।

सरकारले यसलाई ‘डिजिटल सुशासन’ को नयाँ अभ्यासका रूपमा प्रस्तुत गरेको छ। प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अली दाहालका अनुसार नागरिक र राज्यबीचको दूरी घटाउँदै नीति निर्माणमा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले यो प्रणाली ल्याइएको हो। प्राप्त सुझावहरूलाई प्रशासनिक तहमा गम्भीर रूपमा समीक्षा गरी नीतिगत निर्णयमै समावेश गर्ने दाबी पनि गरिएको छ।

सरकारले समृद्ध नेपाल निर्माण अभियानमा रचनात्मक योगदान दिन सम्पूर्ण नेपालीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। नागरिकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत पोर्टलमा प्रवेश गरेर आफ्ना सुझाव पठाउन सक्नेछन्।

सुझावका लागि  : https://suggestions.opmcm.gov.np/

यस्तै, लोकप्रिय आर्थिक न्यूजपोर्टल बिजशालाले पनि २०८३ बैशाख २० गतेदेखि नै जनताले सोझै बजेट, नीति तथा कार्यक्रममा सुझाव दिन पाउने गरी अलग्गै डिजीटल प्ल्याटफर्म तथा सुझाव संकलन कर्नरको समेत थालनी गरेको थियो । बिजशालाको बजेटोत्सव पृष्ठमा गएर समेत सर्वसाधारणले आफ्नो सुझाव पेश गर्न सक्नेछन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X