काठमाण्डौ । देशभर मनसुन सक्रिय भएपनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा यस वर्षको मनसुनी वर्षा औसतभन्दा निकै कम देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार जुन महिनाको पहिलो २५ दिनमा देशभर परेको वर्षा दीर्घकालीन औसतको करिब ७० प्रतिशतमा मात्र सीमित भएको छ।
विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा मापन भएको छ।
यो यस अवधिको दीर्घकालीन औसत २१४ मिलिमिटरको ६९.६ प्रतिशत मात्र हो। तथ्याङ्कले मनसुन शुरु भएयता कुनै पनि दिन औसतको ९० प्रतिशत बराबर वर्षा हुन नसकेको देखाएको छ।
विभागका अनुसार महिनाको प्रारम्भिक चरणमा वर्षा अत्यन्त न्यून रह्यो।
पछिल्ला केही दिनमा वर्षाको गतिविधि केही बढे पनि समग्र वर्षा अझै सामान्य अवस्थामा पुग्न सकेको छैन।
कमजोर वर्षाका कारण विशेषगरी धान रोपाइँको मुख्य समयमा कृषकहरू चिन्तित बनेका छन्।
मौसमविद् डेभिड ढकालका अनुसार यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा केही ढिलो भित्रिएको र प्रारम्भिक चरणमै कमजोर सक्रियतामा रहेकाले अपेक्षित वर्षा हुन नसकेको हो।
उनले मनसुन पूर्ण रूपमा सक्रिय नभएसम्म अधिकांश क्षेत्रमा पर्याप्त वर्षा हुने सम्भावना कम रहेको बताए ।
उनका अनुसार अहिले पनि मनसुनी प्रणाली देशभर फैलिन सकेको छैन।
पाँच प्रदेशका केही भू-भागमा मात्रै मनसुनको प्रभाव देखिएको छ भने बाँकी क्षेत्रमा विस्तार हुन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ।
कम वर्षाले कृषि क्षेत्रसँगै जलस्रोत व्यवस्थापन, सिँचाइ प्रणाली, खानेपानी आपूर्ति तथा जलविद्युत् उत्पादनमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने सरोकारवालाहरूले बताएका छन्।
विशेषगरी धान रोपाइँको समयमा पर्याप्त पानी नपर्दा उत्पादनमा असर पर्ने जोखिम बढेको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले यस वर्षको सम्पूर्ण मनसुन अवधिमा पनि देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ।
विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार मनसुनभरि औसतभन्दा कम वर्षा हुने सम्भावना बलियो रहेको छ भने तापक्रम सामान्यभन्दा बढी रहने अनुमान गरिएको छ।
विभागले सार्वजनिक गरेको मौसमी प्रक्षेपणअनुसार कर्णाली प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।
मौसमविद्हरूले आगामी केही दिनको वर्षाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाउँदै कृषक तथा सम्बन्धित निकायलाई मौसमको अद्यावधिक पूर्वानुमानअनुसार योजना बनाउन आग्रह गरेका छन्।

