काठमाण्डौ । उस्मान डेम्बेलेको उत्कृष्ट ह्याट्रिक प्रेरणामा फ्रान्सले नर्वेमाथि ४–१ को प्रभावशाली जीत निकाल्दै फिफा विश्वकप २०२६ को समूह ‘आई’ विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न समूह चरणको अन्तिम खेलमा फ्रान्सले शुरुदेखि नै खेलमा दबाब कायम राख्दै सहज जीत हात पारेको हो।
फ्रान्सले समूह चरणका तीनवटै खेल जित्दै शतप्रतिशत नतिजासहित ९ अंक जोड्यो।
यसअघि फ्रान्सले सेनेगललाई ३–१ तथा इराकलाई ३–० ले पराजित गरेको थियो।
लगातार तेस्रो जितसँगै टोलीले उपाधि दाबेदारका रूपमा आफ्नो दाबेदारी थप बलियो बनाएको छ।
फ्रान्सको जितमा उस्मान डेम्बेले एक्लैले पहिलो हाफमै ह्याट्रिक पूरा गरे।
उनले सातौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने २०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे।
त्यसको १२ मिनेटपछि ३२औँ मिनेटमा फेरि गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे र फ्रान्सलाई ३–१ को आरामदायी अग्रता दिलाए।
नर्वेका लागि २१औँ मिनेटमा थेलो आसगार्डले गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए।
तर, त्यसपछि फ्रान्सले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो।
दोस्रो हाफमा नर्वेसँग खेलमा फर्कने सुनौलो अवसर थियो।
५०औँ मिनेटमा पाएको पेनाल्टीमा योर्गन स्ट्रान्ड लार्सन गोल गर्न असफल भएपछि नर्वेको पुनरागमनको सम्भावना कमजोर बन्यो।
खेलको इन्जुरी समयमा डिजायर डोएले अर्को गोल थपेपछि फ्रान्सले ४–१ को फराकिलो जीत सुनिश्चित गर्यो।
पराजयका बाबजुद २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे समूह उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान बनाउन सफल भयो।
टोलीले समूह चरणमा ६ अंक जोड्दै नकआउट चरणको टिकट सुरक्षित गरेको हो।
यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो।
तर, तीन अंक जोड्दा पनि सेनेगलका लागि त्यो जीत अघिल्लो चरण पुग्न पर्याप्त भएन।
लगातार तीन हार बेहोरेको इराक भने कुनै अंक जोड्न नसकी समूह चरणबाटै बाहिरियो।
समूह ‘आई’ को अन्तिम अंकतालिकामा फ्रान्स ९ अंकसहित शीर्ष स्थानमा रह्यो भने नर्वे ६ अंकका साथ दोस्रो हुँदै नकआउट चरणमा पुग्यो।
सेनेगल ३ अंकमा तेस्रो र इराक अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

