काठमाण्डौ । नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले कानुन कार्यान्वयनमा सरकारको दोहोरो मापदण्ड देखिएको भन्दै आपत्ति जनाएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखिएको तर सार्वजनिक रूपमा धम्की दिने मन्त्री र सांसदलाई भने कारबाही नभएको भन्दै प्रश्न उठाए।
‘प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखियो। तर निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भन्ने मन्त्री र प्रहरीलाई सडकमा घिसार्छु भन्ने सांसदलाई किन कारबाही हुँदैन ? ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?’ राईले भने।
उनले नागरिकलाई गल्ती सच्याउने अवसर दिनुपर्ने तर राज्यले प्रतिशोधपूर्ण व्यवहार गर्न नहुने बताए। सरकारको शैलीले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको उनको भनाइ थियो।
राईले प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला अभिव्यक्ति र सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे। नियम र कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै उनले राज्य संयन्त्र एकपक्षीय बन्दै गएको आरोप लगाए।
‘लोकतन्त्रमा नियम सबैले मान्नुपर्छ। जब नियम एकथरीलाई मात्र लाग्छ, त्यहीँबाट अराजकता सुरु हुन्छ। अहिले संसद् र सरकार बिस्तारै त्यही दिशातर्फ उन्मुख भएको देखिन्छ,’ राईले भने।
उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर आफ्ना अभिव्यक्तिबारे स्पष्टीकरण दिन सभामुखमार्फत रुलिङ गर्न मागसमेत गरे।
त्यसक्रममा सांसद राईले सुर्खेत जिल्ला प्रशासन कार्यालयमा बुद्धको मूर्तिलाई साङ्लोले बाँधेर राखिएको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराए।
‘मान्छेलाई थुनेको त देखिएको थियो, तर शान्तिका अग्रदूत बुद्धको मूर्तिलाई नै थुनेर राख्नुपर्ने कारण के हो ? यस्ता संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्छ,’ उनले भने।

