काठमाण्डौ । घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ राजस्व सङ्कलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्ष २०८२/८३ मा एकै महिनामा संकलन भएको सबैभन्दा धेरै राजस्व हो।
विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार वैशाखमा रु ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ राजस्व संकलन भएको थियो, जुन आवकै दोस्रो उच्च मासिक संकलन हो।
महिनागत विवरणअनुसार साउनमा रु ३ अर्ब २८ करोड ९१ लाख, भदौमा रु ३ अर्ब १४ करोड, असोजमा रु २ अर्ब ७५ करोड र कात्तिकमा रु २ अर्ब ७४ करोड राजस्व संकलन भएको थियो।
त्यसैगरी, मङ्सिरमा रु ४ अर्ब ८४ करोड, पुसमा रु ५ अर्ब १७ करोड, माघमा रु ५ अर्ब, फागुनमा रु ४ अर्ब १४ करोड, चैतमा रु ६ अर्ब १६ करोड, वैशाखमा रु ६ अर्ब २६ करोड र जेठमा रु ५ अर्ब २४ करोड राजस्व सरकारको खातामा जम्मा भएको विभागले जनाएको छ।
विभागका अनुसार साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर वृद्धि हुने व्यवस्था आगामी बजेटमार्फत तय भएपछि कर बढ्नुअघि कारोबार उल्लेख्य रूपमा बढेको थियो। यही कारण असार महिनामा घरजग्गा किनबेचसँगै राजस्व सङ्कलनमा पनि उल्लेखनीय वृद्धि भएको अनुमान गरिएको छ।
विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र गोरखा भूकम्पपछिको अवधिमा घरजग्गा कारोबारबाट असार महिनामा भएको यो राजस्व सङ्कलन सबैभन्दा उच्च हो।

