काठमाण्डौ । अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेनले सन् २०२६ को फिफा विश्वकप उपाधि जितेको छ। तर खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिले स्पेनको ऐतिहासिक जितसँगै अर्को चर्चा पनि जन्माएको छ।
न्युजर्सीस्थित न्युयोर्क–न्युजर्सी स्टेडियममा भएको फाइनलपछि ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहितका विशिष्ट व्यक्तिहरूले दुवै टोलीका खेलाडी तथा प्रशिक्षकलाई पदक प्रदान गरेका थिए।
त्यसपछि स्पेनका कप्तान रोड्रीलाई विश्वकप ट्रफी हस्तान्तरण गरिएको थियो। ट्रफी ग्रहण गरेपछि स्पेनी खेलाडीहरू उपाधिको खुसी मनाउन जुट्दा ट्रम्प पनि केही समय उनीहरूसँगै मञ्चमा देखिए।
विश्वविजेता टोलीको उत्सवका क्रममा ट्रम्प क्यामेराको मुख्य फ्रेममै रहिरहेपछि उक्त दृश्य सामाजिक सञ्जालमा भाइरल भयो। धेरै प्रयोगकर्ताले खेलाडीहरूको ऐतिहासिक क्षणमा अमेरिकी राष्ट्रपतिको उपस्थितिबारे टिप्पणी गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणमा भने ट्रम्प मञ्चबाट हटेको समयबारे केही भिन्नता देखिएको छ। रोयटर्सले रोड्रीले ट्रफी उठाउनुअघि ट्रम्पलाई मञ्चको छेउतर्फ जान भनिएको उल्लेख गरेको छ भने एसोसिएटेड प्रेसले उनी स्पेनी खेलाडीहरूको उत्सवका क्रममा केही समय नजिकै रहेको जनाएको छ।
समारोहमा ट्रम्प र इन्फान्टिनो मैदान प्रवेश गर्दा दर्शकदीर्घाबाट केहीबेर विरोधको आवाजसमेत सुनिएको थियो। पदक वितरण सुरु भएपछि भने उक्त प्रतिक्रिया कम भएको रोयटर्सले जनाएको छ।
फेरान टोरेस बने निर्णायक
निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा रोकिएको खेलमा स्पेनका फेरान टोरेसले अतिरिक्त समयको १०६औँ मिनेटमा निर्णायक गोल गरेका थिए।
निको विलियम्सले उपलब्ध गराएको बललाई टोरेसले अर्जेन्टिनाको पोस्टमा पुर्याउँदै स्पेनलाई १–० को अग्रता दिलाएका थिए। त्यही गोलसँगै स्पेनले सन् २०१० पछि दोस्रोपटक विश्वकप उपाधि जितेको हो।

