काठमाण्डौ । चालू आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल थालेका छन्।
अर्थ मन्त्रालयको सुवर्ण हलमा जारी बैठकमा बजेट तथा विकास आयोजना कार्यान्वयनमा प्रत्यक्ष भूमिका रहने प्रमुख मन्त्रालयका सचिव एवं प्रतिनिधिहरू सहभागी छन्।
अर्थमन्त्री वाग्लेको अध्यक्षतामा भइरहेको छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायसमेत उपस्थित छन्।
बैठकमा पूर्वाधार, उद्योग तथा वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला तथा बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।
छलफलमा बजेटमा समेटिएका कार्यक्रम र आयोजनाको समयमै कार्यान्वयन, मन्त्रालयहरूबीचको समन्वय तथा खर्च प्रणालीलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर समीक्षा भइरहेको छ।

