काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकास र व्यवसाय विस्तारका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले भोग्दै आएका नीतिगत तथा व्यावसायिक अवरोध हटाउन सरकार सक्रिय रहेको बताए।
उनले महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुलाई देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा प्रवर्द्धन तथा बिक्री वितरण गर्ने वातावरण निर्माण गर्न सरकार तयार रहेको जानकारी दिए।
छलफलमा महासंघका प्रतिनिधिहरूले निर्धक्क रूपमा व्यवसाय सञ्चालन गर्न सकिने वातावरण बनाउन, महिला उद्यमीका वस्तु तथा सेवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, व्यावसायिक सहकार्य र निर्यात प्रवर्द्धनका कार्यक्रममा महासंघको अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरेका थिए।
महासंघले विकास गरेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सरकारी सहयोगको आग्रहसमेत गरेको थियो।
उक्त आग्रहलाई सकारात्मक रूपमा स्वीकार गर्दै प्रधानमन्त्री शाहले ‘म उद्यमी’ ब्रान्डलाई तत्काल बजारमा ल्याउन महासंघका पदाधिकारीहरूलाई प्रोत्साहित गरे। उनले ब्रान्डको प्रवर्द्धन र बजारीकरणमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
महिला उद्यमीहरूले सरकारी नीति निर्माण तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूमा महासंघको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्।

