काठमाण्डौ । सरकारले मिटरब्याज पीडितसँग वार्तालाई औपचारिक रूपमा अघि बढाउन वार्ता टोली गठन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाका अनुसार टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्।
यसअघि बिहीबार नै मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले पनि सरकारसँगको संवादलाई प्रभावकारी बनाउन आफ्नोतर्फबाट औपचारिक वार्ता टोली गठन गरेको थियो।
आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठित टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन्।
मिटरब्याज पीडितहरू असार २५ गतेदेखि जनकपुरधामबाट काठमाडौं केन्द्रित ‘पैदल न्याय मार्च’मा छन्। आन्दोलनरत पक्ष र सरकारबीच बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा हालसम्म चार चरणको वार्ता सम्पन्न भइसकेको छ।

