काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले संगीत, खेलकुद र चलचित्रलाई उद्योगका रूपमा मान्यता दिन मिल्ने वा नमिल्ने विषयमा सरकारसँग जवाफ मागेका छन्।
साम्पाङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग मौखिक उत्तर माग्दै संसद् सचिवालयमा प्रश्न दर्ता गराएका हुन्।
उनले उद्योगको परिभाषाबारे प्रश्न गर्दै सोधेका छन्, ‘उद्योग भन्नाले के–केलाई बुझाउँछ? संगीत, खेलकुद र चलचित्रलाई उद्योग भन्न मिल्छ कि मिल्दैन?’
ती क्षेत्रलाई उद्योगका रूपमा मान्न सकिने भए आर्थिक वर्ष २०८३/८४ को बजेटमा कति रकम विनियोजन गरिएको छ भन्ने जानकारीसमेत उनले मागेका छन्।
प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूले नेपाल सरकारको कार्यक्षेत्र तथा उत्तरदायित्वभित्र पर्ने सार्वजनिक महत्त्वका विषयमा सम्बन्धित मन्त्रीसँग मौखिक वा लिखित प्रश्न सोध्न सक्छन्।
प्रश्न सोध्न चाहने सांसदले सम्बन्धित मन्त्रालय र मन्त्री खुलाएर संसद् सचिवालयमा प्रश्न दर्ता गर्नुपर्ने व्यवस्था छ। नियमावलीको नियम ४३ अनुसार प्रश्न मौखिक र लिखित गरी दुई प्रकारका हुन्छन्।
अभिलेख, तथ्यांक वा विस्तृत विवरण समावेश गर्नुपर्ने प्रश्नको उत्तर लिखित रूपमा दिनुपर्ने व्यवस्था भए पनि साम्पाङले भने मौखिक उत्तर माग गरेका छन्।
संसद् सचिवालयले सम्बन्धित मन्त्रालयबाट जवाफ प्राप्त भएपछि मौखिक तथा लिखित प्रश्नको छुट्टाछुट्टै सूची तयार गर्नेछ। प्रतिनिधिसभाको एक दिनको बैठकमा मौखिक उत्तरका अधिकतम २० र लिखित उत्तरका अधिकतम ५० प्रश्न सूचीमा राख्न सकिने व्यवस्था छ।
समय अभावका कारण मौखिक उत्तर दिन नसकिएको अवस्थामा सम्बन्धित मन्त्रीले उत्तर संसद्मा टेबुल गर्न सक्नेछन्।

