काठमाण्डौ । सवारी चालक अनुमतिपत्रको म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी भएका सेवाग्राहीले अब लाइसेन्स नवीकरण गर्दा १० वर्षसम्म मान्य हुने नयाँ कार्ड पाउने भएका छन्।
यातायात व्यवस्था विभागले म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी भएका लाइसेन्स नवीकरण गर्न चालकहरूलाई आग्रह गरेको छ। नयाँ व्यवस्थाअनुसार नवीकरण गरिएको सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम हुनेछ।
विभागका अनुसार म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स हाल पुरानो विवरणअनुसार छपाइ गरिएका छैनन्। त्यस्ता सेवाग्राहीले लाइसेन्स नवीकरण गरेपछि १० वर्षे अवधि कायम भएको नयाँ कार्ड प्राप्त गर्न सक्नेछन्।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘म्याद सकिन एक वर्षभन्दा कम अवधि भएका लाइसेन्स अहिले छपाइ भइरहेका छैनन्। त्यसैले चालकहरूले नवीकरण गरेर १० वर्ष अवधिको लाइसेन्स लिनु उपयुक्त हुन्छ।’
यससँगै वर्षौँदेखि लाइसेन्स कार्ड नपाएर रसिदकै भरमा सवारी चलाउन बाध्य सेवाग्राहीका लागि पनि विभागले राहतको खबर दिएको छ।
विभागका अनुसार विगत चार वर्षदेखि बाँकी रहेको सवारी चालक अनुमतिपत्र छपाइको काम पूरा भएको छ। गत असार मसान्तसम्म परेका सबै पुराना आवेदनका लाइसेन्स छापिसकिएको विभागको दाबी छ।
साउन ७ गतेसम्म २७ लाख ४७ हजारभन्दा बढी लाइसेन्स वितरणका लागि देशभरका सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाइसकिएको विभागले जनाएको छ।
लामो समयदेखि कार्ड अभाव, ढिलो छपाइ र वितरणमा देखिएको समस्या सुरक्षण मुद्रण केन्द्रसँग गरिएको नयाँ सम्झौतापछि क्रमशः समाधान भएको विभागको भनाइ छ। नयाँ सम्झौतापछि लाइसेन्स छपाइले गति लिएको र पुराना आवेदनको चाप हटाइएको जनाइएको छ।
अब लाइसेन्सका लागि आवेदन दिएका सेवाग्राहीले आफ्नो कार्ड सम्बन्धित यातायात कार्यालयमा पुगे–नपुगेको जानकारी लिएर कार्ड बुझ्न सक्नेछन्।

