काठमाण्डौ। नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्तिका लागि व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरेको छ।
मन्त्रालयले असार २५ गते प्रकाशित स्वीकृत नामावलीअनुसार छनोट भएका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता २०८३ साउन १७ गते मन्त्रालयको सानो सभाहलमा सञ्चालन हुने जनाएको छ।
कार्यतालिकाअनुसार छवि राज पोख्रेल, कौशल के।सी।, संजिव कुमार देव, सीए नागेन्द्र साह, सरोज कुमार शर्मा र दिपेन्द्र कुमार देव गरी ६ जना उम्मेदवारले निर्धारित समयअनुसार आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्दै अन्तर्वार्तामा सहभागी हुनेछन्।
मन्त्रालयले सबै उम्मेदवारलाई नागरिकता, शैक्षिक योग्यता तथा अनुभवका सक्कल कागजातसहित निर्धारित समयभन्दा कम्तीमा आधा घण्टा अगाडि मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा (कोठा नं ३०६) मा सम्पर्क गर्न अनुरोध गरेको छ।
सूचनाअनुसार प्रत्येक उम्मेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि २० मिनेट समय प्रदान गरिनेछ। तोकिएको मिति र समयमा उपस्थित नभएका उम्मेदवारलाई प्रतिस्पर्धामा समावेश नगरिने मन्त्रालयले स्पष्ट गरेको छ।

