काठमाण्डौ । प्रदर्शन चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रशासनले बिहीबार दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको हो। स्थानीय क्षेत्रमा तनाव बढेपछि शान्ति सुरक्षा कायम गर्न र सम्भावित अप्रिय घटना रोक्न निषेधात्मक आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका सबै भाग तथा लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकाका तोकिएका क्षेत्रमा कर्फ्यू लागू गरिएको छ।
कर्फ्यू अवधिमा सम्बन्धित क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा समूहमा हिँडडुल गर्न रोक लगाइएको छ। अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ।
प्रदर्शन नियन्त्रणबाहिर जान सक्ने जोखिम देखिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। कर्फ्यू आदेश अर्को सूचना जारी नभएसम्म कायम रहने जनाइएको छ।
सुनसरीको कप्तानगञ्ज घटनालाई लिएर विभिन्न स्थानमा प्रदर्शन र तनाव बढिरहेका बेला जनकपुरमा समेत कर्फ्यू लगाइएपछि सुरक्षा चुनौती थप विस्तार भएको देखिएको छ।

