काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र जापानबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण तथा औद्योगिक आधुनिकीकरणका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको बताएका छन्।
नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस एलुम्नाइ सोसाइटीद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै अध्यक्ष अग्रवालले सो धारणा राखेका हुन । सम्बिधनकाक्रमा उनले नेपाल–जापान सम्बन्धलाई नयाँ आर्थिक उचाइमा पुर्याउन निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
सम्बोधनका क्रममा अध्यक्षले नेपाल र जापानबीच करिब सात दशकदेखि आपसी विश्वास, सम्मान र सद्भावमा आधारित कूटनीतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै जापान नेपालको प्रमुख विकास साझेदारमध्ये एक रहेको बताए। उनले जापान सरकार तथा जाईका, एओटीएस, जेट्रो, मेटीलगायत संस्थाहरूले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, विपद् व्यवस्थापन, यातायात तथा औद्योगिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरे।
उनले बीपी राजमार्ग तथा नागढुंगा सुरुङमार्गजस्ता परियोजनाहरू नेपाल–जापान सहकार्यका उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै जापानले आर्थिक सहयोगसँगै प्रविधि हस्तान्तरण, सीप विकास, संस्थागत सुदृढीकरण तथा दिगो विकासमा दिएको प्राथमिकताले नेपालको आर्थिक तथा सामाजिक विकासमा दीर्घकालीन प्रभाव पारेको बताए।
अध्यक्ष अग्रवालले जापानमा अध्ययन तथा रोजगारीका अवसर प्राप्त गरिरहेका नेपाली युवाहरूले हासिल गरेको ज्ञान, सीप, अनुशासन तथा कार्यसंस्कृतिले नेपालको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याईरहेको बताए। नेपाल फर्किएपछि वा अन्तर्राष्ट्रिय सञ्जालमार्फत उद्यमशीलता, नवप्रवर्तन तथा प्रविधि हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो।
नेपालको व्यापार तथा लगानी सम्बन्ध जापानसँग अझै सम्भावनाअनुसार विस्तार हुन नसकेको उल्लेख गर्दै उनले यसलाई कमजोरी नभई अवसरका रूपमा लिनुपर्ने बताए। उनले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, पूर्वाधार, नवीकरणीय ऊर्जा, स्वास्थ्य, शिक्षा, डिजिटल सेवा तथा लजिस्टिक्सका क्षेत्रमा व्यापक सम्भावना रहेको धारणा व्यक्त गरे।
जापानको उन्नत उत्पादन प्रविधि, रोबोटिक्स, अटोमेसन, गुणस्तर व्यवस्थापन तथा हरित प्रविधिसम्बन्धी अनुभव र नेपालको युवा जनशक्ति, प्राकृतिक स्रोत तथा क्षेत्रीय बजारसम्मको पहुँचबीचको सहकार्यले दुवै देशलाई लाभ पुग्ने उनले उल्लेख समेत गरे।
अध्यक्ष अग्रवालले संयुक्त लगानी, कृषि तथा प्रशोधन उद्योग, प्रविधि हस्तान्तरण, व्यावसायिक तथा प्राविधिक शिक्षा, डिजिटल रूपान्तरण, नवीकरणीय ऊर्जा, पर्यटन तथा आतिथ्य सेवा, स्टार्टअप प्रवर्द्धन, साना तथा मझौला उद्यम विकास तथा दिगो पूर्वाधार निर्माणका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने बताए।
नेपाल चेम्बर अफ कमर्सले स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले लगानीमैत्री वातावरण, व्यापार सहजीकरण तथा निजी क्षेत्रबीचको सहकार्य विस्तारका लागि सरकार तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले नेपाल एओटीएस एलुम्नाइ सोसाइटीले जापानमा तालिम तथा अध्ययन गरेका नेपाली व्यवसायी तथा पेशाकर्मीहरूलाई एकीकृत गर्दै नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए। भविष्यको नेपाल(जापान सहकार्य सरकार(सरकार सम्बन्धमा मात्र सीमित नभई निजी क्षेत्र, शैक्षिक संस्था, उद्योग तथा जनस्तरको सम्बन्धमा आधारित हुनुपर्ने उनको धारणा थियो।

