काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनले एक हप्ताभित्र युद्धविराम विस्तार र रणनीतिक होर्मुज स्ट्रेट पुनः खोल्ने विषयमा सम्झौता हुन सक्ने सम्भावना व्यक्त गरेका छन्।
एबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘हालात निकै राम्रो देखिएका छन् ।’
ट्रम्पका अनुसार वार्ताका क्रममा दिनको समयमा एउटा सानो समस्या देखिएको थियो, जसलाई उनले तत्काल समाधान गरेको दाबी गरेका छन्। उनका अनुसार यो समस्या लेबनानमा इसरायलद्वारा गरिएको सैन्य कारबाहीसँग सम्बन्धित ईरानको असन्तुष्टिसँग जोडिएको थियो।
उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र हिज्बुल्लाहसँग संवाद गरी तनाव कम गर्न भूमिका खेलेको दाबी समेत गरे। ट्रम्पले भने, ‘मैले दुवै पक्षलाई गोली नचलाउन भनेँ, र उनीहरूले आक्रमण रोकिदिए।’
ट्रम्पले यो प्रक्रिया सहज नभएको स्वीकार गर्दै ईरान र अन्य पक्षबीच गहिरो अविश्वास र लामो समयदेखिको दुश्मनी रहेको बताए। उनले थपे, ‘यो सजिलो छैन, तर हामीले अपेक्षित प्रगति गरिरहेका छौँ।’

