काठमाण्डौ । नेपालमा पछिल्ला तीन महिनायता फैलिएको बर्डफ्लू (एच५एन१) संक्रमणले कुखुरा व्यवसायलाई गम्भीर चुनौतीमा पारेको छ।
मोरङ जिल्लाबाट पहिलो पटक देखिएको संक्रमण विस्तार हुँदै हाल देशका ११ जिल्लामा पुष्टि भइसकेको छ।
संक्रमणको जोखिम बढ्दै गएपछि सम्बन्धित निकायहरूले नियन्त्रण तथा रोकथामका उपायलाई थप कडाइका साथ लागू गरेका छन्।
पशु सेवा विभागका अनुसार हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा बर्डफ्लू संक्रमण पुष्टि भएको छ।
संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रहरूमा व्यापक निगरानी तथा नियन्त्रण अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ।
संक्रमण नियन्त्रणका लागि हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको छ।
त्यसैगरी नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको विभागको तथ्यांकले देखाएको छ।
संक्रमित तथा संक्रमणको आशंका गरिएका फार्महरूमा रहेका कुखुरा, अण्डा र दाना व्यवस्थापन गरी भाइरसको थप फैलावट रोक्ने प्रयास गरिएको हो।
विभागका अधिकारीहरूका अनुसार कोशी प्रदेशमा देखिएको संक्रमण एक महिनाभित्र नियन्त्रणमा ल्याउन सफल भएको दाबी गरिएको छ।
यद्यपि अन्य जिल्लाहरूमा संक्रमणको जोखिम पूर्ण रूपमा हटिनसकेको भन्दै सतर्कता कायमै राखिएको छ।
संक्रमित क्षेत्रहरूमा कुखुरा, चल्ला, अण्डा तथा दानाको ढुवानी र ओसारपसारमा कडा निगरानी राखिएको छ।
साथै उच्च जोखिममा रहेका व्यावसायिक तथा साना कुखुरा फार्महरूमा जैविक सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिइएको छ।
पशु स्वास्थ्यकर्मीहरूले फार्महरूको नियमित निरीक्षण र नमूना संकलन कार्यलाई समेत तीव्र बनाएका छन्।
पशु सेवा विभागले गरेको प्रयोगशाला परीक्षणमा एच५ एन १ बर्डफ्लू भाइरससँगै एच ९ए न२ र न्यूक्यासल रोगका भाइरसहरू पनि फेला परेका छन्।
यसले कुखुरा क्षेत्रमा एकभन्दा बढी रोगजन्य संक्रमणको जोखिम रहेको संकेत गरेको विज्ञहरू बताउँछन्।
यस्ता रोगहरूले कुखुराको उत्पादन घटाउनुका साथै ठूलो आर्थिक क्षति पुर्याउन सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको जनाइएको छ।
विभागले किसानहरूलाई संक्रमित वा शंकास्पद कुखुराको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ।
विशेषगरी मरेका कुखुरा खुला स्थान, नदीकिनार वा सार्वजनिक क्षेत्रमा फाल्न नहुने चेतावनी दिइएको छ।
यस्तो कार्यले संक्रमण थप फैलिन सक्ने भएकाले सुरक्षित रूपमा नष्ट गर्नुपर्ने विभागको भनाइ छ।
कुखुरा व्यवसायीहरूलाई फार्मभित्र बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्न, नियमित रूपमा सरसफाइ गर्न, जैविक सुरक्षा उपायहरू लागू गर्न तथा कुखुरामा असामान्य बिरामीपन वा मृत्यु देखिए तत्काल नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन अनुरोध गरिएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. रमेश दाहालले बर्डफ्लू नियन्त्रण केवल सरकारी प्रयासबाट मात्र सम्भव नहुने भन्दै किसान, व्यवसायी, स्थानीय तह तथा सम्बन्धित सबै निकायको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्।
उनले संक्रमण नियन्त्रणका लागि अपनाइएका मापदण्डको पूर्ण पालना गर्न र कुनै पनि शंकास्पद अवस्था देखिए तुरुन्त जानकारी दिन आग्रह गरेका छन्।
विशेषज्ञहरूका अनुसार बर्डफ्लूको फैलावटले कुखुरा उद्योग, अण्डा उत्पादन तथा बजार आपूर्तिमा प्रत्यक्ष असर पार्न सक्छ।
त्यसैले समयमै नियन्त्रण र रोकथामका उपाय प्रभावकारी रूपमा लागू गर्न नसके आर्थिक क्षति अझ बढ्न सक्ने चेतावनी दिइएको छ।

