काठमाण्डौ । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ । यससँगै कार्नी क्यानडाको प्रधानमन्त्री पदमा यथावत रहने भएका छन् ।
राजनीतिक नवप्रवेशी कार्नीले गत महिना मात्र आफ्नो पूर्ववर्ती जस्टिन ट्रुडोले राजीनामा दिएपछि प्रधानमन्त्रीको रुपमा शपथ लिएका थिए।
उत्तरी सहर फोर्ट स्मिथकोमा जन्मिएका कार्नी क्यानडाको केन्द्रीय बैंकको गभर्नर भएका थिए र उनले सन् २००८ को विश्वव्यापी आर्थिक संकटबाट क्यानडालाई पार लगाएका थिए । त्यस्तै उनी ३ सय वर्षको इतिहासमा बेलायतको केन्द्रीय बैंकको गभर्नर बन्ने पहिलो गैर–बेलायति नागरिक समेत बनेका थिए ।
आफ्नो चुनावी अभियानमा, ६० वर्षीय कार्नीले विश्वव्यापी आर्थिक संकटहरूसँग जुध्न आफ्नो अनुभवलाई जोड दिदै चलिरहेको व्यापार युद्धको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दरो रुपमा उभिने वाचा गरेका थिए ।
जितपश्चात प्रतिक्रिया दिदै प्रधानमन्त्री कार्नीले भने, ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिकाले हामीलाई कब्जा गर्न सकोस् - त्यो कहिल्यै हुनेछैन ।’
यस्तै उनले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको र अमेरिकी विश्वासघातको आघातबाट मुक्त भएको बताएका छन् ।