काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले तेस्रो पटक स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको टीबीसीको पार्टनर विश्वविद्यालय लिड्स बेकेट (एलबीयू)सँगको सहकार्यमा स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको हो ।
अप्रिल १९ देखि एक सातासम्म काठमाण्डौमा सञ्चालन भएको कार्यक्रममा बेलायतस्थित लिड्स बेकेट विश्वविद्यालय तथा टीबीसीमा अध्ययनरत १६ जना विद्यार्थीहरु सहभागी भएका थिए । यस पटकको स्टुडेन्ट एक्सचेन्ज कार्यक्रमको विषय ‘सामाजिक परिवर्तनको लागि आईओटी र आर्डुइनो’ रहेको थियो ।
जस अन्तर्गत विद्यार्थीहरुले पहिरो, स्वच्छ खानेपानी, वन्यजन्तु सुरक्षा, र वनविनाश जस्ता समस्या समाधानका लागि नवीनतम प्रोटोटाइपहरु विकास गरेका थिए ।
यस ‘क्रस–कल्चरल टिमवर्क’मा आधारित कार्यक्रममा टीबीसीमा अध्ययनरत र लिड्स बेकेडबाट आएका विद्यार्थीहरुलाई मिलाएर टिमहरुको निर्माण गरिएको थियो । जसअन्तर्गत पहिरोको चेतावनी प्रणाली,स्मार्ट पानी गुणस्तर निगरानी प्रणाली, नाइट गार्ड प्रणाली, र वनविनाश निगरानी एपको प्रोटोटाइप विद्यार्थीहरुले निर्माण गरेका थिए ।
कार्यक्रमको नेतृत्व एलबीयूकी डा.पूनेह बघेरी जादेह र टीबीसीका डा. रोहितराज पाण्डेले गरेका थिए । जसमा द ब्रिटिस कलेजका अन्य संकाय सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । यस कार्यक्रमले अनुसन्धान, संयुक्त अध्यापन र डिजिटल शिक्षामा भविष्यका सहकार्यहरूबारे पनि सम्भावना अनुसन्धान गरेको छ ।
कार्यक्रमबारे प्रतिक्रिया दिँदै डा.जादेहले भने, ‘फरक–फरक संस्कृतिका विद्यार्थीहरू एकसाथ बसेर महत्वपूर्ण प्रविधिको विकास गरेको देख्दा हामी निकै प्रभावित भयौं । यो कार्यक्रमले शिक्षा र नवप्रवर्तनमा सीमाना हुँदैन भन्ने कुरा फेरि प्रमाणित गरेको छ ।’
त्यस्तै,कलेजका निर्देशक महेन्द्रराज कँडेलले भने, ‘यस कार्यक्रममा विद्यार्थी र फ्याकल्टीबीच ऊर्जा र विचारहरूको आदान प्रदान प्रेरणादायक रह्यो । यो कार्यक्रम केवल सिकाइको मात्र नभई भविष्य निर्माणको एक साझा अभियान बनेको मेरो विश्वास छ ।’
कार्यक्रमको सफल समापनसँगै दि ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय साझेदारी विस्तार, नवप्रवर्तन प्रवद्र्धन, र विद्यार्थीहरूलाई नेतृत्वका लागि सक्षम बनाउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।